पार्टीकै नेतृत्वमा कर्णालीमा सरकार गठन गर्न पहल गर्ने माओवादीको निर्णय

सुर्खेत ः नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा पार्टीकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । बुधबार र बिहीबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो। बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णाली प्रदेशमा समानुपातिक मत वृद्धि भएको निष्कर्ष समेतनिकालेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । त्यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत सुझाव पठाइएको छ।
यस्ता छन् निर्णय

१ ः प्रदेश सरकार निर्माणको सन्दर्भमा हालै सम्पन्न निर्वाचनको परिणाम अनुसार तुलनात्मक रुपले कर्णाली प्रदेश सभामा हाम्रो पार्टीको उपस्थिति बलियो रहेको गठबन्धनको निर्णय अनुसार प्रतिनिधि सभामा हामीले पाएको ५ सिट मध्ये सिद्ध ४ र प्रदेशसभामा पाएको १० सिट मध्ये ९ सिटमा हाम्रो पार्टीका उम्मेदवार विजयी भएको २०७४ सालको निर्वाचनको तुलनामा कर्णाली प्रदेशमा पार्टीको समानुपातिक मत पनि वृद्धि भएको अवस्थामा यस प्रदेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने ।

२ ः संघीय सरकार निर्माणको सन्दर्भमा पहिलो कार्यकाल हाम्रो पार्टीको नेतृत्वमा सरकार गठनको लागि अधिकतम पहल गर्नुपर्ने ।

३ ः पार्टी निर्माणको सन्दर्भमा यथाशीघ्र विशेष महाधिवेशन आयोजना गरी विचार संश्लेषण र समाजवादी कान्तिको ठोस कार्यक्रम तय गर्नुपर्ने, वैचारिक राजनैतिक तथा पार्टी पुनर्गठनको अभियान संचालन गर्नुपर्ने पार्टी तथा जनसंगठनका सबै तहका कमिटीको आकार घटाएर साना र चुस्त कमिटी बनाउनुपर्ने, नेतृत्व चयन र कमिटी निर्माण गर्दा निर्वाचन प्रणालीको अभ्यासलाई निरुत्साहित गर्न नहुने । पार्टीको विधानलाई कडाइका साथ पालना गर्नुपर्ने ।

४ ः कम्तिमा माओवादी धाराका कम्युनिष्ट पार्टीहरुबिच पार्टी एकताको लागि सार्थक पहल गर्नुपर्ने केपी ओली प्रवृत्ति बाहेकका अन्य कम्युनिष्ट पार्टीहरु विच पनि पार्टी एकताको पहल गर्नुपर्ने । ५। हालैको निर्वाचनमा यस प्रदेशको दैलेख जिल्ला जनप्रतिनिधि विहीन भएकोले कुनै न कुनै हिसाबले सम्बोधन गर्नुपर्ने ।

६ ः संघ, प्रदेश र स्थानीय स्तरमा हाम्रो पार्टीको सत्ता संचालन निर्देशक समिति गठन गरी परिचालन गर्नुपर्ने ।

७ ः यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने, गठबन्धन सरकार बन्ने अवस्थामा संघ, प्रदेश र स्थानीय तहमा सत्ता संचालनको लागि गठबन्धन दलका प्रतिनिधि सम्मिलित राजनैतिक संयन्त्र बनाउनुपर्ने।





error: Content is protected !!