वामपन्थीको गोलभित्र अहंकारी ओलीको उदयले बाम गठबन्धन टुट्यो ः प्रचण्ड

सुर्खेत ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक सम्बृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् ।

आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,‘ हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यक रहेको पनि बताए ।

उनले भने,‘ गठबन्धन १५ वर्ष जाने छ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ ।’ यस्तै उनले वामपन्थीको गोलभित्र अहङ्कारी केपी ओलीको उदयले बाम गठबन्धन टुटेको बताए । उनले अब ओलीसँग सहकार्य नहुने उल्लेख गरे ।

संसद पूर्ण कार्यकाल चल्छ, ओलीले जस्तो विघटन गर्दैनौँ ः देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा नदिएको अधिकार प्रयोग गरेर दुई पटक संसद विघटन गरेको आरोप लगाएका छन्।

गठबन्धनले सुर्खेतको मेहेलकुनामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए।

‘ओलीले संसदलाई अंगभंग गर्न खोजे’ उनले भने, ‘जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं। संसदलाई पूर्ण कार्यकाल राख्छौं।’

साथै देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन्। उनले त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन आग्रह पनि गरे।





error: Content is protected !!