२ जिल्ला घुमेर पुग्नुपर्छ पालिका केन्द्र, तर उम्मेदवार आए ७० सालकै बाचा बोकेर

सल्यान /  ०७० को निर्वाचनमा प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका पार्टीले घरघरमा पानी, बिजुली र केन्द्रसम्म सडक पुर्‍याउने, टेलिफोन र स्वास्थ्योपचारको सुविधा उपलब्ध गराउने बाचा गरेका थिए । उनीहरूले आफ्नो घोषणापत्रमा पनि यस्ता विकासे नारा उल्लेख गरेका थिए ।
०७४ को निर्वाचनमा पनि यी प्रमुख दलको घोषणापत्रमा यस्तै मुद्दा समेटिएका थिए । अनौठो त के भने, तिनै दलका नेताहरू आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेस सभाको निर्वाचनका लागि उही झण्डै दशक पुरानो घोषणापत्र बोकेर गाउँ छिरेका छन् ।

मतदाताहरुले भने न आँगनकै धारोबाट पानी पिउन पाएका छन् न त बिजुली बाल्न नै पाए । कालीमाटी गाउँपालिका ६ र ७ काप्रेचौरबासीहरू हाल चुनावकै संघारमा मत माग्न आउने नेताहरूलाई पुरानै साझा प्रश्न सोधिरहेका छन्- ‘पिउने पानी, स्वास्थ्य संस्था र बिजुली खै ?’

गाउँमा टेलिफोन सेवा त छ तर नियमित रुपमा नेटवर्कको समस्याले गर्दा फोनमा बोल्न पनि उनीहरूलाई घरमाथिका डाँडाहरू खोज्दै हिँड्नु पर्छ । गाउँमै सडक बन्ने आसामा उत्साही बनेका उनीहरू अहिलेसम्म नियमित रुपमा गाडी चढ्न पाएका छैनन् । स्तरीय सडक नहुँदा काप्रेचौरबासीहरू हिउँदमा मात्रै गाडी चढ्न पाउँछन् ।

यतिसम्म कि बबई नदीमा पुल नहुँदा विद्यार्थीहरू जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् । आधारभूत उपचारका लागि पनि स्वास्थ्यसंस्थाको सुविधा नहुँदा नेपालगन्ज, कोहलपुर तथा सुर्खेत जान बाध्य हुनु परेको स्थानीय बताउँछन् । त्यतिमात्रै नभएर गर्भवती महिलालाई सुत्केरी हुनका लागि पनि गाउँमा सुविधा छैन ।

सडकले अहिलेसम्म वडालाई पूर्ण रुपमा नजोड्दा आफ्नै पालिकाको कार्यालय पुग्न पनि स्थानीयलाई दुईवटा जिल्ला घुमेर दिनभर लगाई जानुपर्ने बाध्यता छ । यसरी नै जिल्लाकै सबैभन्दा विकट मानिने काप्रेचौरका बासिन्दाहरू यसपटक पनि चुनावअघि पुरानै बाचा सुन्न बाध्य भए ।

आधारभूत विकासका संरचना नहुँदा काप्रेचौरको ६ र ७ नं वडाका झन्डै दुई हजार परिवार प्रभावित भएका छन् । काप्रेचौर घुइयाबारीका नारायण सुनार भन्छन्, ‘बारम्बार माग राख्दै आएपछि केही योजना संचालनमा त आए । तर ती पूरा गर्ने कुनै छाँटकाँट छैन ।’

सुनारका अनुसार स्थानीयहरू जंगलको बाटो हिँडेर खोलामा पानी लिन जानु पर्दा जंगली जनावरको आक्रमणबाट मृत्यु हुने गरेको छ । सुविधायुक्त स्वास्थ्यसंस्था नहुँदा बिरामीहरूको बाटैमा मृत्यु हुने गरेको छ ।

घुइयाबारीका स्थानीय दलबहादुर पुनले भने निर्वाचनका बेला मात्रै नेता देखिने र त्यसपछि नचिन्ने प्रवृत्तिले आफ्नो गाउँ सबैभन्दा पछि परेको बताए । ‘०७० देखि ०७९ मा अहिलेसम्म दुईपटक स्थानीय र दुईपटक प्रतिनिधिसभाको निर्वाचन भएको छ । यसपटक त प्रदेससभाको निर्वाचन पनि दोस्रोपटक हुँदैछ । निर्वाचनका बेला प्रचारप्रसार तथा भोट माग्न आएका नेताले घरघरमै पानी, सुलभ स्वास्थ्य सेवा, १२ महिना गाडी चल्ने सडक बनाउने भन्दै आएका छन् तर अहिलेसम्म ठूला योजना एउटा पनि परेको छैन । बबई नदीमा एउटा पक्की पुल निर्माण गर्ने योजना परेको थियो । त्यो पनि त्यत्तिकै हरायो,’ पुनले भने ।





error: Content is protected !!