दुर्गमको स्वास्थ्य सेवा ः औषधि पसलकै भर

जाजरकोट ः जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँकी ३२ वर्षीया कल्पना पुनले आमा बिरामी भएपछि पिठ्यूँमा बोकेर मेडिकलमा ल्याइन्। करिब २ घण्टा सल (बर्को) मा बोकेर हिँडेरै वडा नम्बर ५ घाटबजारमा रहेको मेडिकल (औषधि पसलमा ) मा ६१ वर्षीया आमालाई ल्याईपुर्‍याउनु त्यति सजिलो थिएन।

गाउँसम्म सडक पुगेको छ तर बिरामी पिठ्यूँमा बोकेर औषधि पसलमा पुर्‍याउनुपर्ने बाध्यता रहेको कल्पनाले बताइन्। सडक गाडी चलाउन बनाएको हो कि हेर्नलाई हो, कल्पनाले प्रश्न गरिन्।

उनले भनिन्, ‘वर्षा सकिएको पनि महिना दिन पुगिसक्यो सडक मर्मत हुँदैन, गाउँमा बिरामी बोक्ने स्ट्रेचरसम्म छैन। हाम्रो दुःख कसले सुन्नेरु लिम्सामा अस्पताल छ तर डाक्टर भए पो उपचार गर्नु, अस्पतालको अनुहार हेरेर त रोग निको हुँदैन क्यारे’

‘दुई घण्टा लगाएर आमालाई एक्लै बोकेर ल्याई यही पुष्पान्जलि मेडिकलमा उपचार गराइरहेकी छु‚’ उनले भनिन्। घरमा भोट माग्न नेताहरू आइरहन्छन् तर कसैले पनि आमालाई उपचार गराउन सहयोग गर्दैनन् पुनको दुखेसो छ।

‘हाम्रो भोटले पालिका जिते, अब प्रदेश र संघमा समेत जित्ने दाउमा छन् तर हाम्रो दुःखमा उनीहरूको सहयोग कहिले पनि भएन‚’ पुनले पीडा सुनाउँदै भनिन्।

बारेकोट गाउँपालिका–४ जिरीका पवित्रा रावत पनि सोही औषधि पसलमा उपचार गराइरहेकी छन्। उनको गाउँमा स्वास्थ्य संस्था छ तर रावतलाई त्यहाँको उपचार गर्ने तरिका नै मन पर्दैन। बिरामी भएमा गाउँका सबै बासिन्दा त्यही मेडिकलमा आउने गरेको रावतको भनाइ छ।

आफू पनि दुई दिनदेखि मेडिकलमा उपचार गराइरहेको बताइन्। सरकारी स्वास्थ्य संस्थामा कहिले औषधि नपाइने, कहिले डाक्टर नभेटिने र धेरै कुर्नुपर्ने झन्झट कारण औषधि पसलमा आएको उनको भनाइ छ। सरकारीको औषधिले कामसमेत नगर्ने गरेको रावतले बताइन्।

लिम्सास्थित स्वास्थ्य संस्थाभन्दा मेडिकल रहेको घाट बजारमा बिरामीको चाप रहेको तस्वीरसमेत देखिन्थ्यो। ‘लिम्सामा जान बाटो मर्मत भएको छैन, उपचार गर्न सबै मेडिकलमै आउने गरेका छन्‚’ बारेकोट–५ घाटका विवेक सिंहले बताए।

औषधि पसलभन्दा सरकारी स्वास्थ्य संस्था कसरी अगतिला भए तरु यो विषय मननीय रहेको सिंहको भनाइ छ। निःशुल्क औषधिदेखि उपचार सेवा उलपब्ध हुने स्वास्थ्य संस्थामा जनताले किन भरोसा बन्न छाडेका छन् हाम्रो ध्यान त्यता मोडिनुपर्ने उनको तर्क छ।

उता बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जनताको पहुँचमा स्वास्थ्य संस्था भएकोले त्यहाँबाट सेवा लिन आग्रह गरे।

बारेकोट गाउँपालिकाका आन्तरिक सडक मर्मत गरेर सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन सके यहाँका सर्वसाधारणलाई राहत हुने अपेक्षा रहेको छ।





error: Content is protected !!