यसरी विकासको मुलधारमा आउदैंछ जाजरकोट

हेमन्त केसी
जाजरकोट , २७ असोज ः साविकको कर्णाली भन्दा पछाडी परेको जाजरकोट विगत पाँच वर्षमा विकासको मुलधारमा आएको छ । राष्ट्रिय सडक सञ्जाल , स्वास्थ्य संस्थाको विकास देखि जनताको पहुँचमा विद्युतीकरण कार्यहरु बढ्दै जाँदा साविकका भेरी अञ्जालका जिल्लासँग प्रतिस्पर्धामा पुगेको छ ।
जिल्लामा भित्रिएको भारी बजेटका साथै निर्माण कार्य जारी रहेका संरचनाले अबको पाँच वर्षमा जाजरकोटको खास मुहार फेरिने नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए । जटिल भुगोलका साथै साविकका कर्णालीसँग जोडिएको भएपनि राज्यको ध्यान नपुग्दा यहाँका नागरिकले सास्ती भोग्दै आएका थिए ।
जाजरकोट मात्र नभई कर्णालीकै भविश्यसँग जोडिएको नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट , ७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजना , भेरी करिडोर , लम्बिनी –रारा सडक , जाजरकोट –जुम्ला सुरुङ लगाएका निर्माणधिन आयोजनाले जाजरकोटको विकास प्रतिको उचाइ बढाइदिएको छ ।
एक दर्शक अघि झाडापखालाको जिल्ला भनेर दुनियाँले फलाक्ने जाजरकोटले अहिले आफ्नो परिचय मात्र बदलेको छैन, छिमेकी जिल्लालाई समेत भारी सघाउ पुर्याउदै आएको शाहको बुझाई छ । कर्णाली प्रदेशकै दोस्रो ५० शश्याको जिल्ला अस्पताल जाजरकोटमै निर्माण कार्य जारी रहेको छ ।
कर्णालीको जडिवुटीलाई जाजरकोटमै प्रशोधन गरेर बजारीकरण गर्नका लागि सरकारी तवरबाट नै कार्यालय स्थापना गरी प्रशोधन केन्द्र निर्माण लागि जाजरकोटको कालेगाउँमा प्रशोधन केन्द्रको निर्माण कार्य जारी रहेको छ ।
बहु प्राविधिक शिक्षालय स्थापना गरी जिल्लामै बिभिन्न प्राविद्यिक शिक्षाका कार्यक्रमहरु पढाइ सुरु भएसँगै लाखौं रकम तिरेर जिल्ला बाहिर गई प्राविद्यिक शिक्षा लिने झनझटबाट यहाँका विद्यार्थीहरु मात्र नभई छिमेकी जिल्लाका विद्यार्थीहरु समेतले फाइदा लिइरहेका छन् ।


मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोट खण्डको ८२ किलोमिटर सडकको ३० किलोमिटर भन्दा कम मात्र पिच गर्न बाँकी रहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यान्वन इकाइले जानकारी दिएको छ । कस्तुरीको प्रजनन केन्द्र स्थापना गर्न बारेकोट गाउँपालिकाको सक्लामा भौतिक संरचनाका कामहरु तिब्र रुपमा काम भइरको छन् । तत्कालिन वन तथा वातारणमन्त्री तथा नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत मन्त्री हुँदा जिल्लामा सुरु गरिएका विकास निर्माणका कामहरुले नतिजा देखाएको समाजसेवी तथा कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले बताएका छन् ।
द्धन्द्धकाल सकिए लगत्तै शान्ति प्रक्रियामा सुर्खेतको राकममा रहेको भेरी करिडोरको सडक शान्ति प्रक्रिया पछि मात्र जाजरकोट सदरमुकाममा जोडिएको थियो । द्धन्द्धकालमा सडक निर्माणको जिम्मेवारी पाएको नेपाल सेनाले शान्ति काल स्थापनासँगै सडक निर्माणलाई तिब्रता दिएपछि जाजरकोट सदरमुकामबाट ११७ किलोमिटर कडा चट्टान रहेको सडकलाई झण्डै १३ वर्ष लगाएर डोल्पाको दुनै पुर्याइ सरकारलाई हस्तान्तरण गरेको तीन वर्ष भित्र स्तरउन्न्तीका कामहरु सञ्चालन सुरु भएका छन् ।


अहिले यही सडकमा पिचको काम जारी रहेको छ । भेरी नदीमा मात्र १३ वटा पुल निर्माणको काम जारी रहेको छ । अहिले जाजरकोट जिल्ला भित्रका अन्तरिक छोटा , लामा सडकलाई पिच गर्नका लागि १४ अर्ब भन्दा बढी बजेट बिनियोजन भई काम सुरु भएको सडक डिभिजन चौरजहारीले जनाएको छ ।
आएको बजेटले समयमै काम हुने हो भने जाजरकोट अबको पाँच वर्षमा सबै ठाउँमा पिच हुने डिभिजन चौरजहारीका इन्जिनियर सुरेश बस्यालले बताए । पहुँचको अभावमा विकासको मुलधारमा आउन नसकेको जाजरकोट पछिल्लो समयमा राजनीतिक पहुँचका साथै कर्मचारी तन्त्रमा पनि राम्रो पकड भएकै कारण विकास निर्माणको कार्यले फड्को मारेको इन्जिनियर निरज शाहले बताए ।


६ वटा मात्र टेलिफोन टावर रहेको जाजरकोटमा यो वर्ष मात्र २७ वटा नयाँ नयाँ टेलिफोन टावरहरु निर्माण चरणमा रहेको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोविन्द्र अधिकारीले बताए । शान्ति प्रक्रिया पछि तीन पटक मन्त्री पाएको जाजरकोटले विकासको मुलधारमा आउनका लागि इतिहासका भारी वर्षहरु कुनुपरेको विश्लेषण रहदै आएको छ ।
अहिले भएका विकास निर्माणका कामहरुलाई निरन्तरता दिदै थप उपलब्धीका लागि नयाँ एजेण्डामा जानुपर्नेमा जाजरकोटबाट आसन्न मंसिर ४ गते चुनावमा भिड्न लागेका प्रतिनिधिसभाका उम्मेदवार शक्तिबहादुर बस्नेतले बताए । जाजरकोटमा केही भएन मात्र भनेर नपुग्ने भन्दै भएका कामहरु पनि हाम्रा लागि त्यतिकै महत्वपुर्ण रहेको उनको भनाई छ ।
हामी धेरै नकरात्मकबाट अगाडी बढीरहदा सकरात्मक पक्ष कम्जोर हुने र जिल्लाकै बेइजत हुने खतरा हुने भन्दै पुर्वमन्त्री बस्नेतले हामी त्यता तीर पनि सचेत हुनुपर्ने बताए ।
जाजरकोटबाट माथिल्लो ओहदामा पुगेर राजनीतिक गर्ने एक मात्र व्यक्ति बस्नेत हुन् । उनलाई अहिले सत्ता गठन्धनको साथ रहेको छ । ६ ठाउँमा केन्द्रीय प्रशारण लाइनको सव स्टेशन र ४०० केभी प्रशारण लाइनको सव स्टेशन समेत जाजरकोटमै निर्माण कार्य जारी रहेकाले दुनियाँले लोभ मान्ने ठाउँमा अबको पाँच वर्षमा पुगिने नेताहरुको बुझाई रहेको छ । जिल्लाका सातै वटा पालिका सहित सबै जनप्रतिनिधिको सहभागितामा भएको समिक्षा बैठकमा समेत यि कुरालाई जोड दिएर अगाडी बढ्ने निर्णय भएको समन्वय समितिले बताएको छ ।





error: Content is protected !!