जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जाजरकोट ः यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

 प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रमुख सेनानी सविन प्रताप केसी, प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक लालसिंह विष्ट, निमित्त जिल्ला निर्वाचन अधिकारी नविनकुमार कठायत लगायतको उपस्थितिमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत केशवराज चपाईंले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन्।

यही असोज २० गतेभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्नुपर्ने निर्वाचन आयोगको निर्देशनअनुरूप कार्यालयको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत चपाईंले बताए।

जाजरकोटमा एक लाख तीन हजार तीन सय ६३ मतदाता रहेका छन्।  ७७ मतदान स्थलमा एक सय ४३ मतदान केन्द्र रहेका छन्।

निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाधलीरहित एवं शान्तिपूर्ण तवरले सम्पन्न गर्ने गरी कार्य गर्ने मुख्य निर्वाचन अधिकृत चपाईंले बताए। प्रमुख जिल्ला अधिकारी न्यौपानेले निर्वाचनलाई निष्पक्ष तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त पारिने बताए।

शनिबारदेखि नै सशस्त्र प्रहरी बलको एक युनिट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षार्थ खटाइएको सशस्त्र प्रहरी बलका प्रमुख लालसिंह विष्टले बताए।

जाजरकोटमा संघीय प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र र प्रदेशमा २ निर्वाचन क्षेत्र रहेका छन्।





error: Content is protected !!