दसैंमा जाजरकोट कहाँ घुम्ने ? यि हुन् छुटाउनै नहुने ६ गन्तब्य

दलबहादुर ओली
बिदेशबाट नेपाल जाने, शहर बजार बाट गाउँ जाने चटारो सबैलाई छ यतिबेला । गाउँ जानका लागि बसपार्क र गाडीहरु भरिभराउ छन् । शहर रित्तिँदै छ गाउँ बाहिरबाट फर्केकाहरुले रमाईलो गराउँदै छन् । विदेशबाट ठुला सुटकेश बोकेर गाउँ आउनेको संख्या पनि बाक्लिँदै छ ।
पछील्लो समय पोखरा, लुम्बिनी, सौराहा, काठमाडौं जस्ता मुख्य पर्यटकिय केन्द्रहरु भन्दा नेपाली पर्यटकहरु स्थानिय गन्तब्यहरु तर्फ पनि आकर्षित हुँदै गईरहेका छन् । आफु जन्मेकै ठाउँ आसपास पनि घुम्न लायक थुप्रै ठाउँहरु छन् जसले कमै महत्व पाउँछन् । जाजरकोटमा पनि त्यस्ता थुप्रै ठाउँहरु छन् जहाँ एकपटक पुगिएन भने घुमाई अपुरै रहन्छ ।
प्राकृतिक स्रोत साधनका हिसाबले धनी तर राज्यको नजरबाट टाढाको दुरीमा रहेको जाजरकोट जिल्लाको सौन्दर्य मध्यपश्चिममै उल्लेखनीय छ । पर्यटकीय दृष्टिकोणले जिल्लालाई महत्वपूर्ण मानिए पनि पर्यटनका लागि उचित योजना र प्रचार प्रसार नहुदा जिल्लाको पर्यटनले फड्को मार्न सकेको छैन । मनोरम पाटन क्षेत्र, मौलिक संस्कृति, दुर्लभ वन्यजन्तु दुर्लभ पक्षीहरुको बासस्थान रहेको जाजरकोट प्रकृति र संस्कृतिले अत्यन्तै मनोरम रमणीय रहेको छ ।
जाजरकोट आउदा तपाई पुग्नैपर्ने केही पर्यटकीय गन्तव्यको बारेमा छोटकरीमा जानकारी दिएको छु ।
१ शिवालय क्षेत्र

जाजरकोट सदरमुकाम नजिकै कालेगाउँमा रहेको धार्मिक तथा ऐतिहासिक शिवालय क्षेत्र । भेरी नदीको किनारमा रहेको धार्मिक दृष्टिले निकै सम्भावना वोकेको पर्यटकीय क्षेत्र हो । जाजरकोट जिल्लाको, स्थानीय परम्परा, लोक सँस्कृति र इतिहाससंग प्रत्यक्ष जोडिएको शिवालय क्षेत्र जाजरकोट लगाएत रुकुम सल्यान सुर्खेत जिल्लाको धार्मिक तिर्थस्थलको रुपमा परिचित छ । शिवालय क्षेत्रमा तीनवटा ऐतिहासिक एवम कलात्मक मन्दिरहरु रहेका छन् । सुरुमा सुनको गजुर भएको वुढापाको भनाइ भएपनि अहिले एउटा मन्दिरमा सुनको जलप लागेको गजुर र अन्यमा जिर्ण रहेका काठ र अन्य वस्तुका गजुरहरु रहेको पाइन्छ । भेरी नदीमा पौडी तथा रयाप्टिंग खेल्ने, खुल्ला हरिया चौरहरुमा वनभोज खाने, पवित्र शिवालय मन्दिरको दर्शन गर्ने, विभिन्न प्रकारका खेलकुदहरु सन्चालन गर्ने लगाएतका मनोरन्जनात्मक क्रियाकलापका लागि शिवालय अति सम्भावनायुक्त रहेको छ ।
२ जाजरकोट दरबार

जाजरकोट दरवार कला र ऐतिहासिक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ । दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृश्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृस्य मात्र होइन पुर्वतीर सिस्ने हिमाल, होलु जिउला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको खलंगाको पिपल डाडाँस्थित टाकुरोमा रहेको जाजरकोट दरवार प्राकृतिक सुन्दरताले मनमोहक छ ।सरकारले हालै सार्वजनिक गरेको देशभरका एक सय पर्यटकीय गन्तव्यमा जाजरकोट दरबारलाई पनि सूचीकृत गरिएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको यस दरवारले पर्यटकीय सम्भावना बोकेको छ ।
३ मालिका गुफा
जाजरकोट जिल्ला भौगोलिक रूपमा पछाडी परेपनि यो क्षेत्र प्राकृतिक रूपले धनी रहेको छ । यस क्षेत्रमा विभिन्न पर्यटकीय तथा रमणीय ठाउँहरू रहेका छन् । दशेरा गाविसको वडा नं १ मा पर्ने फाल्म भन्ने गाउँको सिरानमा रहेको मालिका गुफा एकदमै रमणीय र पर्यटकीय दृष्टिकोणमा महत्त्वपूर्ण मानिन्छ । यो गुफा चारैतिर प्राकृतिक रूपमा ढुङ्रगै ढुङ्रगाले बनेको छ । समुन्द्रि सतहदेखी करिव ३५६० मिटर उचाइमा रहेको यो गुफामा ढुङगाले बनेका शिव पार्वती,गणेश,विष्णुका मुर्ती रहेका छन् । ति मुर्ती हरू आफै ढुङगाबाट बनेका छन् । गुफा लगभग ४०० मिटर भित्र रहेको छ भने त्यहाँ जानलाई भर्या्ङ बनाइएको छ ।
४ अग्लो पहाड
यो जिल्लाको सबैभन्दा अग्लो डाँडा भैरीको लेख पर्दछ । यो लेखमा विभिन्न किसमका हिमाली मृगहरू र अमूल्य धातु पाइने गर्दछ। यो लेखबाट कैलाली, अछाम, सुर्खेत, देलेख, कालिकोट, जुम्ला, सल्यान, रोल्पा, डोल्पा तथा अन्य हिमालहरू पनि देख्न सकिन्छ । जाजरकोटको सबैभन्दा अग्लो पहाडको रूपमा ५४६० मिटर उचाइ भएको हिउँचुली हिमाल हो । जाजरकोट भेरी न।पा। मा पर्ने मछाइना भन्ने ठाउँबाट पुर्वमा बाग्लुङ्ग जिल्लाको धौलागिरी हिमाल प्रष्टै देख्न सकिन्छ ।

५ मनोरम फाँट तथा जलाधार क्षेत्र नलगाड
चारैतिर अग्ला पहाड ले घेरेको बीचमा ठूलो फाँट फाँट को छेउ बाट कलकल बग्दै आफ्नो वेग पछ्याइरहेका २ ठूला नदी जसमा रहेको सुन्दर बस्ती अहिलेको नलगाडको नगर कार्यपालिका कार्यालय दल्ली रहेको छ ।यस रमणीय ठाउँमा पौडि खेल्ने तथा र्याप्तिङ चढेर मनोरञ्जन लिन सकिने ,साथै ठूलो भेरी र नलगाड नदीको माछाको मीठो स्वाद लिन पाइन्छ । साथै यस जलाधार क्षेत्र बाट जाजरकोटको मात्रै हैना कर्णाली प्रदेशका जनताको भबिस्यसङ जोडिएको नलगाड हाईड्रो प्रोजेक्ट आयोजना नलगाड नगरपालिका ७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका ८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल छ। नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ। ६ किलोमिटरको जलासय र २ सय १० मिटर अग्लो ड्याम तथा ८.२ किलोमिटर लामो सुरुङ बन्नेछ। नलसिंगाड जस्तो ४ सय १० मेगावाट क्षमताको जलाशयुक्त जलविद्युत आयोजना निकै महत्वको बन्नेछ । यो क्षेत्र अहिलेको चरणमा रहेको छ ।
६ ः साइकुँवारी अथवा ठाकुरजी

यो एक तिर्थ स्थल हो, बारेकोट गाउँपालिका मा अवस्थित यस धार्मिक, तिर्थ तथा पर्यटकीय स्थल करिब ४६०० मीटर उचाइमा रहेको छ। देउराली पाटन को उकाली चड्दै आउने यो ठाउँ निकै रमणीय छ। हरेक वर्ष साउन भाद्र महिनाको महिनामा यहाँ तिर्थ आउने तिर्थ यात्रीहरुले भरिपूर्ण हुन्छ। यही बेला यहाँ पाटन पनि विभिन्न थरी थरीका फूलहरूले रंगीचंगी हुन्छ जसले गर्दा झन् सौन्दर्य थपेको हुन्छ।

माथि साईकुवारी ठाकुरजी पुग्दा सम्म बाटोमा निकै रमणीय स्थलहरू छन्। यहाँबाट विभिन्न हिमश्रृङ्खला पनि देख्न सकिन्छ जसले गर्दा मनलाई नै लोभ्याउने बनाउँछ। प्राकृतिक सुन्दरता ले धेरै भरिपूर्ण ठाउँहरू छन्, जसलाई आँखाले हेरेर थाकिदैन ।










