दसैंको मुखमा चामल बिक्री बितरण बन्द

हेमन्त केसी
सुर्खेत ः कर्णालीका ७ जिल्लामा सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल विक्री गरिरहेको खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा भने चामल नै बिक्री बन्द गरेको छ ।

चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोहरुमा चामल बिक्री ,बितरण बन्द गरिएको हो । दशैंँको लागि भन्दै सर्बसाधारणहरु डिपो तथा शाखा कार्यालयमा चामलका लागि गएपनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।

कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भएपनि अहिले चामल अपुग भएको भन्दै उक्त काममा पनि चामल वितरण नगर्ने जनाइएको छ । सोमबार देखि नै चामल लिन कम्पनीको गोदाममा पुगेकी सिमकोट–६ की चादनी रोकायले चामल नपाइएपछि रित्तो हात फर्किनुपरेको बताइन । जिल्लाका अरू डिपो र बिक्री केन्द्रका गोदाम पनि गत असारयता खाली छन् ।

सिमकोट शाखाका लागि गत आर्थिक वर्षको १ हजार ६ सय क्विन्टल चामल ढुवानी हुन बाँकी छ । चालु आर्थिक वर्षका लागि चामल ढुवानी गर्नका लागि ठेक्का निकालिएको छ । असोज १२ गते सुर्खेतबाट हवाइ मार्ग हुँदै चामल ढुवानी गर्नका लागि र नेपालगन्जबाट ढुवानी गर्न ठेक्का निकालिएको छ । हवाइ मार्ग मार्फत ८ हजार चामल ढुवानी गर्न ठेक्का खोलिएको हो ।

डेढ महिनाअघि हवाईमार्गबाट ढुवानी गर्ने गरी ठेक्का आह्वान गरिए पनि एयरलाइन्सहरूले जिल्ला दररेटभन्दा बढी दररेट पेस गरेकाले पुनः ठेक्का गर्नुपर्ने अवस्था आएको थियो । जिल्ला दररेटअनुसार सुर्खेतबाट प्रतिकिलो १ सय ४० र नेपालगन्जबाट १ सय ५० रुपैयाँ हवाई ढुवानी भाडा तोकिएकोमा एयरलाइन्सहरूले नेपालगन्जबाट २ सय र सुर्खेतबाट १ सय ९० रुपैयाँ दररेट पेस गरेका थिए  ।

चालु आर्थिक वर्षका लागि हुम्लामा २० हजार ५ सय क्विन्टल चामल स्वीकृत भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्लाका नासु नवीन आचार्यले हुम्लाको शाखाबाहेक अन्य गाउँपालिकामा स्थापना भएका आठवटा डिपो तथा बिक्री केन्द्रबाट यसपालिको दशैँमा खाद्यान्न बिक्री वितरण नगरिएको बताए । उनले खाद्य व्यवस्था कम्पनीले सबै डिपो तथा बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीका लागि भएको आशयपत्र निकाल्न ढिलो भएका कारण ढुवानीकर्ता छनोटकै क्रममा रहेको जानकारी दिनुभयो ।

शाखाका अनुुसार नाम्खा गाउँपालिकाको याल्वाङ र लिमी बिक्री केन्द्रका लागि सिमकोटबाट पाँच÷पाँच सय क्विन्टल चामल व्यवस्था गरिएको छ । खार्पुनाथ गाउँपालिकाको याङ्चु बिक्री केन्द्रका लागि पैदल मार्गबाट सुर्खेत र नेपालगञ्जबाट पाँच÷पाँच सय गरी एक हजार क्विन्टल खाद्यान्न व्यवस्था गरिएको छ ।

अन्य बिक्री केन्द्र चङ्खेलीको देउलीका लागि सुर्खेतबाट पाँच सय क्विन्टल, सर्केगार्ड गाउँपालिकाको तुम्च बालुकुना बिक्री केन्द्रका लागि सुर्खेतबाट एक हजार र ताँजाकोट गाउँपालिकाको छप्रेला बिक्री केन्द्रका लागि सुर्खेतबाटै एक हजार क्विन्टल कोटा खाद्यान्न व्यवस्था गरिएको छ ।

त्यसैगरी सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपोका लागि मुगुको गमगढी र सुर्खेतबाट एक÷एक हजार गरी दुई हजार क्विन्टल र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोका लागि सुर्खेतबाट एक हजार, धनगढीबाट एक हजार र बाजुराको कोल्टीबाट पाँच सय गरी दुई हजार पाँच सय क्विन्टल खाद्यान्न व्यवस्था गरिएको छ ।

सिमकोट शाखाका लागि पनि चालू आर्थिक वर्षका लागि १० हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेकामा छ हजार सुर्खेत र चार हजार क्विन्टल नेपालगञ्जदेखि हवाई मार्गबाट व्यवस्था गरिएको छ भने स्थलमार्गबाट पनि शाखाकै लागि सुर्खेत, नेपालगञ्ज, धनगढी र राजापुर गरी चार स्थानबाट एक÷एक हजार गरी चार हजार क्विन्टल खाद्यान्न व्यवस्था गरेको छ । सो खाद्यान्नसमेत ढुवानी हुन सकेको छैन ।





error: Content is protected !!