एक घर ,एक पानीको धारा

हेमन्त केसी
जाजरकोट , २ असोज ः पुखौँ देखि खानेपानीको समस्या भोग्दै आएकी जाजरकोट नलगाड नगरपालिका – १ चिउरीकी धनकला चदाराको घर आँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट धनकलाको आंगनमै धारा निर्माण गरेर चौबिसै घण्टा पानी निरन्तर आउदा उहाँको खुसीको सिमा नै छैन । आफू भन्दा अगाडीका पुस्ताले पानीकै लागि गरेको दुख र संर्घषका दिनहरु सम्झदै धनकला भन्नुहुन्छ ,‘ छोरा,छोरी साना हुँदा डोकाले तोरेर ( बन्द गरेर ) पिउने पानी ल्याउनका लागि आधा घण्टा टाढा जानुपथ्यो , आधा घण्टा बच्चा रोइ कराइ निन्द्रामा परिसकेका हुन्थे । अहिले घरको आँगनमै पानी आएको छ । ’
धनकला जस्तै ५१ वर्षीय रमिता विकका पानीकै लागि भोगेको पीडा कम छैन । उहाँ भन्नुुहुन्छ ,‘ आफ्नै गाउँ ,ठाउँका मान्छे माननीय भएपछि मात्र पानी घर आँगनमै पाएका छौँ । अब पानीबाट हुने सबै काम गछौँ , पानी नहुँदा हाम्रो गाउँमा छोरी,बुहारीलाइ कति दुख थिए । ’ करिव १४० घरधुरी भन्दा बढी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा आधा घण्टाको दुरी पार गरी डोकोमा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो । उकालोमा पानी ल्याउदा हैरानी खेप्नुपरेको उहाँले पीडा सुनाउनुभयो । अब त्यो दुख पूर्ण रुपमा हटेको छ ।
उहाँहरु जस्तै नलगाड नगरपालिका –१ र २ का ६५० घरधुरीमा एकै पटक घरघरमा खानेपानीको धारा पुगेसँगै पानीका दुख हटेका छन् । कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालय र स्थानीयवासीको झण्डै साडे ४ करोड श्रमदानबाट खानेपानी निर्माण भएपछि पिउने पानीक लागि भोग्दै आएको समस्य हल भएको हो ।

२०७४ सालमा निर्माण कार्य सुरु गरिएको नहकुली खानेपानी आयोजना करिव पाँच वर्ष भित्र निर्माण कार्य पुरा भएको छ । १४ किलोमिटर ढाटाको दुरीबाट ल्याइएको पानीबाट आधा दर्जन गाउँमा चौबिसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टकबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार आधा दर्जन पानीका मुहानहरुबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराएको छ ।
१५१ वटा ठुला ,साना ट्यांकी निर्माण गरि घर, घरमा पानी ल्याइएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । चिउरीको दलित बस्ती , गढी , छेप्का , बैरीताल चिसापानी , अनाहपानी , माफगाउँ र स्यालचौर लगाएतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ ।
पानीको शुद्धता समेत मापन गरेर घर, घरमा उपलब्ध गराएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । घर, घरमा पानी पुगे लगत्तै आज निर्वमान कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले खानेपानीको उद्घाटन गरी घरघरमा छोडिएको छ । निर्वमानमन्त्री सिंहले पिउने पानीको समस्य हल भएको भन्दै अब तपाईहरुले पानीको उपयोगिताका विषयमा पनि सोच्नुपर्ने बताउनुभयो । खानेपानीको खरावी आएमा मर्मत देखि अन्य कामहरुमा स्थानीयवासीहरु आफैं सक्रिया हुनुपर्ने समेत उहाँले बताउनुभयो ।
नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले खानेपानीको निरन्तर अनुगमणका साथै निगरानी हुनुका साथै, समस्य परेको समयमा समस्य हल गर्न प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा ( माओवादी केन्द्र) का संयोजक टेकबहादुर रावल , जिल्ला इन्चार्ज गगनबहादुर खड्काको समेत सहभागिता रहेको थियो ।










