नाबालिका बलात्कार प्रकरण ः महत पुर्पक्षका लागि जेल चलान

जुम्ला — धर्मछोरीका रुपमा घरमा राखिएकी १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेका जुम्ला चन्दननाथ नगरपालिका ७ का प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत जुम्लाका न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले महतलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
बलात्कार प्रकरणलाई मिलापत्र गराउने कार्यमा सहभागी रहेको आरोप लागेका पाँच जना भने धरौटीमा छुटेका छन् । घटनाको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले महतलाई २० वर्षको कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । सोही मागदाबीसहित परेको मुद्दामा महतलाई कारागार चलान गर्ने आदेश भएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए । उनका अनुसार नाबालिकामाथि बलात्कर गरेको घटना मिलापत्र गरेको भन्दै प्रेमजंगलाई थप ३ वर्षको कैद सजायसमेत माग दाबी गरिएको थियो ।
मिलापत्र गराउने कार्यमा सहभागी भएको आरोप लागेका चन्दननाथ नगरपालिका–५ का कालीबहादुर भण्डारी र चन्दननाथ–४ की उर्मिला महत जनही दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । कालीबहादुर चन्दननाथ नगरपालिका ५ का वडा सदस्य हुन । उर्मिला शिक्षिका हुन् ।
यसैगरी चन्दननाथ–४ का नवराज भारती र चन्दननाथ ७ शर्मिला महत जनही दुई लाख धरौटी तिरेर छुटेका छन् भने तातोपानी गाउँपालिका–८ की ईश्वरी आरसी एक लाख धरौटीमा छुटेकी छन् । मिलापत्र गराउने कार्यमा संलग्न तीन जना अझै फरार सूचीमा छन् । उनीहरूको नाममा पक्राउ पुर्जी जारी गरिएको श्रेस्तेदार रेग्मीले बताए । मिलापत्र गराउने कार्यमा संलग्न भएको आरोप लागेका अधिवक्ता दिलबहादुर महत यसअघि फरार सूचीमा रहेकोमा बिहीबार अदालत हाजिर भइ बयान दिएका छन् । महेन्द्रबहादुर महत र जीवन महत अझै फरार छन् ।
मुलुकी अपराध संहितामा १० देखि १४ वर्षकी नाबालिकामाथि जबरजस्ती करणी गरे १८ देखि २० वर्षसम्म कैद सजायको व्यवस्था छ । नाबालिकामाथि करणीको आरोप लागेका महतलाई जुम्ला प्रहरीले २९ साउनमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । त्यसक्रममा लिइएको बयानका आधारमा मिलापत्रमा सहभागी थप पाँच जनालाई पक्राउ गरेको थियो ।
जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगामा बस्दै आएकी १३ नाबालिका वैशाखदेखि धर्मछोरीको रुपमा महतको घरमा बस्दै आएकी थिइन् । महतले नाबालिकालाई एक महिनासम्म जबरजस्ती करणी गरेको आरोप पीडितले लगाएकी छिन् । नाबालिकालाई छोरीका रूपमा घरमा राखेर पढाइदिने आश्वासन दिएका थिए ।
जनप्रतिनिधिसहित ७ जनाको रोहबरमा मिलापत्र बनाइएको थियो । मिलापत्रमा ७ लाख रुपैयाँ पढाइ खर्च उपलब्ध गराउने उल्लेख छ ।
मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधिअनुसार बलात्कारको घटना मिलाउनु कानुनविपरीत हो । बलात्कारका घटनामा मिलापत्र गराउनेलाई समेत ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने उल्लेख छ ।
रार तीन जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले प्रेमजंग्बाहेक पाँच जना धरौटीमा छुटेको बताए ।










