कर्णालीमा माओवादीकै सरकार हुन्छ ः प्रचण्ड

सुर्खेत ः विहीबार तोकिएको कर्णाली प्रदेशको नेकपा ( माओवादी केन्द्र) को प्रशिक्षण आज हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आएपछि उक्त प्रशिक्षण हुने भएको हो ।
अध्यक्ष प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन् । प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे । सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन ३ बाटै चुनाव लड्ने बताए ।
नेकपा (एकीकृत समाजवादी)सँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे ।
यो पटक प्रतिनिधि र प्रदेश दुबै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।
एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकिर गरे ।








