सार्वजनिक पुल बन्द , आवतजावत बन्द

नन्दा शाही
डोल्पा , १५ भदौ ः त्रिपुरासुन्दरी नगरपालिकाको वडानम्वर १ मा पर्ने साङटा र वडा नम्वर ४ रंग गाउँको मान जोड्ने भेरीनदि माथिको झोलुङ्गेपुल बन्द हुँदा आवतजावतमा समस्या भएको छ ।
नवनिर्वाचित वडाअध्यक्ष रन्जित बुढाको निर्देशनमा वनसमितिले सार्वजनिक पुलको दुवैतर्फ ढुङ्गा थोपारेर बन्द गरेपछि आवतजावतमा अवरोध भएको स्थानीयको आरोप छ ।
रंग गाउँवाट त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोट बगर लगायत वडा नम्वर ९ मा पर्ने चुँ र १० मा पर्ने लिकु गाउँमा जान स्थानीयलाई छिटो र सहजताका लागि २०७६ मा झोलुङ्गे पुल निर्माण गरिएको थियो । तर यतिखेर रंगगाउँका भन्दा छिमेकी वडाका पशुचौपायले बनको घाँसमा क्षेतिपुर्याएको भन्दै सार्वजनिक पुलमा समेत ढुङ्गाले पर्खाल चिनेर आवतजावत बन्द गर्नु राम्रो नभएको स्थानीय केशर बुढाले बताउनुभयो ।
सुँ सामुदायिक वनउपभोक्ता समिति र ४ नम्बर वडा कार्यालयको ०७९ साउन ४ गतेको संयुक्त बैठकको निर्णयका आधारमा वनसमितिले पुलको दुवैतर्फ ढुङ्गा थोपारेर बन्द गरेको वडासदस्य हरि बुढाले बताउनु भयो । यत्तिखेर गाउँका सबै पशुचौपाय लेक (खर्करुमान)मा रहने भएकाले हिउँदको समयमा पशुचौपायको लागि घाँस र वनजङ्गलको समेत संरक्षाण गर्न पुल बन्द गरिएको सुँ सामुदायिक बन समितिले जनाएको छ ।
गाउँका पशुचौपाय खर्करुमानमा रहेको र यो समयमा अन्यवडाका पशुचौपायले वनमा क्षेती पुर्याउने भएकाले असोज १० गते पछि मात्र बन खुला गरिने गरि सार्वजनिक सूचना समेत टाँसेर मानिसहरुलाई असर नपर्ने गरि पशुचौपाया आवतजावत गर्ननसकुन भनेर बन्द गरिएको सदस्य हरि बुढाको भनाई छ । सार्वजनिक पुलमा जनप्रतिनिधिकै संलग्नतामा ढुङ्गा थोपारेर आवतजावत बन्द गरिएपछि भने सामाजिक सन्जालमा स्थानीयले चर्को विरोध गरेका छन ।










