भदौ महिना भित्र सम्झौताका कामहरु सक्न मन्त्री सिंहको निर्देशन

सुर्खेत , १ भदौ ः कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा उर्जा विकास सम्वन्धी कामहरुको भदौ महिना भित्र सम्झौता गरि सक्न जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिनुभएको छ ।
साउन २ गते नै अख्तियारी गइसकेकोले भदौ महिना भित्र सम्झौता गरेर कामलाइ गती दिनुपर्ने मन्त्री सिंहले १० जिल्लाका कार्यालय प्रमुखलाइ निर्देशन दिनुभयो । मन्त्रालयले कर्णाली प्रदेशको बार्षिक कार्यक्रम कार्यान्वन सम्वन्धी छलफलमा आज सुर्खेतमा बोल्दै मन्त्री सिंहले यस्तो बनाउनुभएको हो । १० जिल्लाका कार्यालय प्रमुखले जिल्लामा काम गर्दा आइपरेका समस्याका विषयमा समेत मन्त्री सिंह र सचिव देवराज निरौंलालाइ जानकारी गराएका थिए ।
हिमाली जिल्लामा काम गर्दा सबै भन्दा बढी समस्य भएको उक्त कार्यक्रममा सहभागी खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय हुम्लाका प्रमुख अकल महतले बताउनुभयो । सामग्रीको मुल्य भन्दा बढी ढुवानी भाडा खर्च हुने गरेको भन्दै उहाँले दुर्गममा काम गर्न समस्य भएको जानकारी गराएका थिए । सडक सञ्जालसँग नजोडिएको हुम्लामा सबै ठाउँमा स्थल मार्ग हुँदै पैदल हिडेर काम गर्नुपर्ने र अधिकांश समय हिमपातका कारण तोकिएको समयमा काम पूरा गर्न नसकिने महतले बताउनुभयो ।
त्यस्तै डोल्पाका कार्यालय प्रमुख नविन थापाले उपल्लो डोल्पामा काम गर्न मुस्किल भएको बताउनुभयो । शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले विकास निर्माणका काम गर्दा बाधा उत्पन्न गर्दा केही समस्य आउने गरेको उहाँको भनाइ छ । असार २५ गते भुक्तानी दिने सिस्टम बन्द गरिदा भारी मात्रामा काम गरेको रकम उपभोक्तालाइ दिन नसकेको भन्दै तत्काल समस्य समाधान गर्न कार्यालय प्रमुखले मन्त्री सिंहलाईलाइ जानकारी गराएका थिए ।
सल्यान र जुम्ला बाहेक अन्य ठाउँमा करोडौँ रकम काम गरेको दिन बाँकी रहेको उक्त कार्यक्रममा बताएको छ ।
अघिल्लो वर्ष जस्तो यो वर्ष साना , टुक्रे योजना नभएका कारण काम गर्न समस्य नहुने भन्दै समयमै सबै काम सक्ने नीति अवलम्वन गर्न योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताउनुभयो । मन्त्रालयले यो पटक नयाँ तरिकाले काम गर्न खोजेको भन्दै मन्त्री सिंहले त्यसको हिस्सेदार सबै भएको जानकारी गराउनुभयो ।
भुक्तानी दिने काम रोकिएको भएपनि अधिकांश जिल्लाको प्रगती विवरण सन्तोषजनक भएको सचिव देवराज निरौंलाले बताउनुभयो । हामी जहाँ छौँ त्यही ठाउँबाट भारी काम गरेर सुन्दर कर्णाली बनाउने अभियानमा गती दिनुपर्ने सचिव निरौंलाले बताउनुभयो ।










