कर्णालीमा ३० हजार मतदाता थपिए

सुर्खेत, २२ साउन ः कर्णाली प्रदेशमा करिब ३० हजार मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । सरकारले आउदो मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तोकि सकेको छ । कर्णालीका १० वटै जिल्लामा गरी करिब ३० हजार नयाँ मतदाता थपिएका हुन । प्रदेशमा २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ९ लाख आठ हजार ६ सय ३१ जना मतदाताको संख्या रहेको थियो ।

निर्वाचन आयोगका अनुसार तीमध्ये महिला मतदाताको संख्या चार लाख ४९ हजार ३० रहदा पुरुष मतदाताको संख्या चार लाख ५९ हजार ६ सय एक रहेको थियो । गएको निर्वाचनयता कर्णालीका सबै जिल्लामा मतदाताको संख्या उल्लेख्य रूपमा बढेको छ ।असार र साउन महिनाको अवधीमा मात्रै प्रदेशमा ९ हजार २ सय ४५ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो ।

पाँच जिल्लामा १७ हजार ६ सय ३३ जना मतदाता थपिएका छन भने अन्य पाँच जिल्लाको तथ्याङ्क संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन । गत बैशाखमा भएको निर्वाचमा सुुर्खेतमा दुई लाख १८ हजार ४३ मतदाता थिए । सल्यानमा गएको निर्वाचनमा एक लाख ४० हजार ६ सय ६७ रहेकोमा त्यसयता, जिल्लामा २५ सय मतदाता थपीएको जिल्ला निर्वाचन आयोग कार्यालय सल्यानले गरेको छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा जाजरकोटमा एक लाख ३ हजार आठ सय ६९ मतदाताको संख्या रहेकोमा, त्यसयता थप जिल्लामा १२ सय ८८ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी नृपराज उपाध्यायले बताए । बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जुम्लामा ६७ हजार ७ सय ४४ रसहेकोमा त्यसमा थप ३ हजार मतदाता थपिने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

डोल्पामा यसअघि स्थानीय तहको निर्वाचनमा २२ हजार ४ सय ४० मतदाता रहेकोमा दुई महिनामा डोल्पामा ४ सय मतदाता थपिने जिल्ला निर्वाचन कार्यालयका डोल्पाका निमित प्रमुख अधिकारी सुमन राइले ४ सय मतदाता बताए ।
यस्तै, मुगुमा पनि यसअघि स्थानीय तहको निर्वाचनमा ३५ हजार ९९ मतदाता रहेकोमा अहिले थप १२ सय मतदाता थपिने जिल्ला निर्वाचन कार्यालय मुगुले अकलन गरेको निर्वाचन अधिकारी विष्णु प्रसाद न्यौपाने बताए ।





error: Content is protected !!