बाबु प्रमुख अतिथि, छोराको अध्यक्षतामा चामुण्डा विन्द्रासैनीको नीति तथा कार्यक्रम पेस

दैलेख ः पश्चिम दैलेखमा पर्ने चामुण्डा बिन्द्रासैनी नगरपालिकाले बिहीबार ११ औं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि थिए– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही ।

उनको गृह नगरपनि त्यही हो । संयोग नै भन्नुपर्छ, सोही नगरपालिकाको नगरप्रमुख उनकै छोरा गणेश कुमार शाही छन् । बाबु कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित सो कार्यक्रममा छोराले अध्यक्षता गरेका थिए ।

छोराले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा मन्त्री शाही प्रमुख अतिथिको आसनबाट पालिकाको नीति तथा कार्यक्रम सुनिरहेका थिए । नगरप्रमुख शाहीले ‘दिगो विकासका लागि पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार, समृद्ध चामुण्डा विन्द्रासैनी नगर निर्माणको मुल आधार’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

उक्त नीति, कार्यक्रममा आगामी ३ वर्षभित्र पालिकाभर स्वच्छ सफा पिउने पानीको सहज सुविधा उपलब्ध गराउन एक घर, एक धारा निर्माणको योजना अघि सारिएको छ । नगरप्रमुख शाहीले भने, ‘हामीले कृषि क्षेत्रलाई पनि प्राथमिकता दिएका छौं । एक वडा, एक उत्पादन विशेष कार्यक्रम बनाई कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रीकीकरण गरिने अर्को हाम्रो लक्ष्य छ ।’

नगरभरिका गर्भवती महिलाहरुलाई ‘टेलिमिडिसिन’ सेवा मार्फत घरमै गएर स्वास्थ्य परीक्षण गर्ने योजना पनि उनले अघि सारे । उनले ‘एक जनप्रतिनिधि एक संरक्षित वन कार्यक्रम’ ल्याएका छन् । आगामी एक वर्षभित्र पालिकालाई विद्युतीकरण गरिसक्ने, एक वडा एक उद्यान पार्क निर्माण गर्ने नीति पनि पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘वेसहारासँग नगरप्रमुख’ कार्यक्रम घोषणा गर्दै उनले नगरपालिकामा स्थायी रुपमा बसोबास भएका र आमाबुबा गुमाएका, आमाबुबा मध्ये कुनै एक नभएका र अरुको सहारामा बाँचिरहेका सहाराविहीन बालबालिकाका लागि यसबाट सहयोग हुने अपेक्षा गरेका छन् ।





error: Content is protected !!