हुम्ला याल्वाङ गाउँ महाबौद्धमा देखियो ठेउला

सुर्खेत , गर्मी मौसममा देखा पर्ने ठेउला रोग हिमाली जिल्ला हुम्लामा देखा परेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका –४ स्थित याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीको छात्राबासमा बस्ने विद्यार्थीहरुमा यस्तो समस्य देखिएको हो ।
५७ जना विद्यार्थीहरुमा ठेउला जस्तो लक्षण देखिने रोग देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । जाँच र परीक्षणका लागि नमूना संकलन कार्य भइसकेको उनले बताए । पालिकाको स्वास्थ्य टिम र जिल्लाबाट गएको टिमले संयुक्त रुपमा उपचारका लागि खटिएको उनले जानकारी दिए । संकलन गरिएको नमुना सुर्खेत आज पुगिसक्ने सिंहको भनाइ छ ।
कस्तो प्रकारको ठेउला हो भन्ने कुरा नमुना जाँच पछि मात्र भन्न सकिने उनले बताए । सदरमुकाम सिमकोटबाट दुइ दिन हिडेर मात्र रोग प्रभावित गाउँमा पुग्न सकिन्छ । बौद्ध लामाहरुले सञ्चालन गरेको विद्यालयमा यो समस्य देखिएको हो । पाक्ने ,चिलाउने , फोका उठेको ठाउँमा खाल्डो पर्ने भएकाले ठेउला नै हो भन्ने एकिन नभएको नाक्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । सरसफाइको कमी देखि धेरै विद्यार्थी भएकाले यहाँ बढी समस्य आएको आफूले पाएको उनले बताए । बाँकी कुरा त नमुनाको जाँच पछि आउने रिर्पोटले बताउने उनले बताए ।
के हो ठेउला
भेरिसेला जोष्टर नामक भाइरसको संक्रमणबाट हुने यो रोगले शुरुमा छालामा मसिना बिबिरा देखिन्छन् । यो प्रायः गरेर अनुहार, घाँटी, छाती, पेट र पिठ्यूँमा हुने एक प्रकार को खतरनाक छाला को रोग हो । यसले अनुहार लाई दागी बनाएर छोड्न पनि सक्छ । यो रोग विशेष गरी स–साना केटाकेटीहरुमा बढ्ता देखिने गर्दछ । यो रोग लागेका बिरामीलाई जहाँ पायो उहीं हिँड्ने, जसको पायो उसैको बिस्तरा मा सुत्ने, अरुका कपडा लगाउने गर्न दिनु हुँदैन । यो हावा तथा प्रयोग गरेका लत्ताकपडा आदिका माध्यम बाट अरु व्यक्तिहरु लाई सर्ने गर्दछ ।
एसलाई अंग्रेजीमा चिकन पक्सका नाउँले चिनिन्छ । ठेउलाको रोकथामका लागि खोप लगाउने प्रचलन भए पनि कतिपय खोप नलगाएका र खोप लगाएका पनि मध्ये पनि केही प्रतिशत मा ठेउला निस्कने गरेको पाइएको छ । यो अत्यन्त छिटो फैलने संक्रामक रोग हो । भेरिसेला जोष्टर भाइरस को संक्रमण भएको १० देखि २१ दिन भित्र यसका लक्षणहरु देखा पर्छन् ।










