कर्णाली प्रदेशमा अघिल्लो पटक पहिलो नम्बरमा रहेको एमाले अहिले तेस्रोमा

सुर्खेत ः देशभर नै विभाजनको असर खेपिरहेको नेकपा एमालेले कर्णालीमा सबैभन्दा बढी क्षति बेहोरेको छ। २०७४ सालमा पहिलो दल बनेको एमाले अहिले तेस्रो नम्बरमा खुम्चिएको छ। ७९ मध्ये ७६ पालिकाको मत परिणाम आइसक्दा सबैभन्दा लाभ कांग्रेसलाई भएको छ। कांग्रेसले ३२ वटामा जित हासिल गरेको छ। माओवादीले २१ वटामा र एमालेले १५ मा जितेको छ भने चार पालिका स्वतन्त्रले जितेका छन्।

नतिजा आउन बाँकी तीनमध्ये दुईमा माओवादी केन्द्र अघि छ भने एकमा स्वतन्त्रको अग्रता छ। कालिकोटको रास्कोट, पचलाझरनामा माओवादीको अग्रता छ। हुम्ला चंखेलीमा स्वतन्त्रले अग्रता लिइरहेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा कर्णालीमा एमालेले २७ पालिका जितेको थियो।

अहिले १२ गुमाएको हो । कांग्रेस र माओवादी केन्द्रले भने समान २५ पालिका जितेका थिए। गठबन्धन गर्दा पनि माओवादी केन्द्रले दुई पालिका गुमाउनुपर्ने देखिन्छ । अग्रता लिएका पालिकामा जित हासिल गर्दा समेत जम्मा २३ मा माओवादी केन्द्रका प्रमुख हुनेछन्। एमाले कर्णालीका पाँच जिल्लामा शून्य भएको छ । हुम्ला, जुम्ला, कालीकोट, रुकुम–पश्चिम र मुगुमा एमालेले एउटा पालिकामा पनि जित निकाल्न नसकेको हो।





error: Content is protected !!