आफूलाई भोट नहालेको भन्दै, कांग्रेसका उम्मेदवार रोकायाले कार्यकर्तालाई कुटे

जुम्ला ः नेपाली कांग्रेसबाट चन्दननाथ नगरपालिका वडा नं ८ मा वडाअध्यक्षको उम्मेदवारी दिएका रुप बहादुर रोकायाले आफ्नै कार्यकर्तालाई कुटपिट गरेका छन्।

रोकायाले वडाध्यक्ष पदमा आफूलाई भोट नदिएको भन्दै चन्दननाथ नगरपालिका ८ कै कुमार बिक्रम शाही र कमल बोहोरालाई कुटपिट गरेका हुन्।

उनको कुटाइबाट शाही घाइते भएका छन्। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ।

उम्मेदवार रोकायाले आफूलाई उनका भाइ कृष्ण रोकाया, सोही वडाका वसन्त धराला, देवी धराला, बिर्ख रोकाया सहितका मानिसले सामूहिक रुपमा कुटपिट गरेका भन्दै पीडित शाहीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

शाहीले उजुरीमा उम्मेदवार रोकायाले फोन गरेर काम छ भन्दै आफू सहित चार जना लिएर उमगाडमा कुटपिट गरेको त्यसपछि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामूहिक रुपमा कुटपिट गरेको उल्लेख गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमार विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाईएको र घटनाको अनुसन्धान गरिने बताइएको छ।

यता जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले आफूलाई भोट नहालेको भन्दै कुटपिट गरेको बिषयमा प्रहरीमा उजुरी आएको बताए। उनले आवश्यक छानविन गरी कानुनी कारवाही गरिने जानकारी दिए।





error: Content is protected !!