जुम्लामा आगलागीबाट घर जल्यो

जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिकास्थित आगलागीबाट एउटा घर जलेको छ । तातोपानी गाउँपालिका ५ ऐरीनका कृष्णप्रसाद चौलागाइँको घर जलेको हो । शुक्रबार खाना पकाउने क्रममा लागेको आगोले घर जलेको स्थानीयहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दका अनुसार तीनतले घरको माथिल्लो तलामा भान्सा रहेको र खाना पकाउँदा आगो सल्किएर आगलागी भएको हो ।
बेलुका ५ बजेर ४५ मिनेटमा आगलागी भएको खबर प्रहरीलाई पुगेको थियो । स्थानीयहरूका अनुसार घरको माथिल्लो तला जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, नजिकैको लाम्रा प्रहरी चौकी र जिल्ला सदरमुकाम खलंगाबाट गएको सुरक्षाकर्मीको टोलीले आगो निभाएको हो ।
आगलागीको क्षति विवरण अझै यकिन भइसकेको छैन । डीएसपी चन्दले क्षतिको विवरणबारे शनिबारमात्र भन्न सकिने बताए । आगो निभाउन चन्दननाथ नगरपालिकाको दमकल पनि प्रयोग भएको थियो ।










