निर्वाचनमा भाग लिने विषयमा नेकपामा विवाद, वास्तोला र ओली विप्लवको विपक्षमा

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम सुरु भएको छ । शुक्रबारदेखि कपिलवस्तुमा सुरु भएको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

राजनीतिक प्रस्तावमा स्थानीय तह निर्वाचनलाई उपयोग गरेर जानुपर्ने उल्लेख छ । बैठकमा सचिवालयका सदस्यहरू र केही केन्द्रीय सदस्यले महासचिवको प्रस्तावमा धारणा राखेको नेता धर्वेन्द्र वास्तोलाले बताए । ‘राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रम सुरु भएको छ,’ उनले भने, ‘सचिवालयका कमरेडहरु र केही केन्द्रीय सदस्यहरुले धारणा राख्नु भएको छ ।’ आइतबार थप केन्द्रीय सदस्यहरुले राजनीतिक प्रस्तावमाथि धारणा राख्ने उनले बताए ।

एक केन्द्रीय सदस्यका अनुसार बैठकमा चुनावलाई उपयोग गरेर जाने नीति पार्टीलाइन विपरित हुने भन्दै महासचिव विप्लवलाई प्रस्ताव फिर्ता लिन सचिवालय सदस्य हेमन्त प्रकाश ओलीले आग्रह गरेका थिए । ओलीलाई उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘निर्वाचनलाई उपयोग गर्ने लाईन संशोधनवादी हो । यसले नेपाली क्रान्तिलाई पुनः संसदीय भासमा फसाउँछ । महासचिवले प्रस्ताव फिर्ता लिएर क्रान्तिको मोडल ल्याउनुपर्छ ।’

यसअघि सचिवालय बैठकमा तटस्थ देखिएका सन्तोष वुढामगरले भने विप्लवको प्रस्तावलाई समर्थन गरेका छन् । उनले निर्वाचनलाई उपयोग गरेर जान सकिने धारणा राखेका छन् । उनले शान्ति प्रक्रियामा आएपछि निर्वाचनलाई साधनको रुपमा प्रयोग गर्न सकिने धारणा राखेका छन् ।

सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले निर्वाचनमा भाग लिए क्रान्तिलाई धोका दिन नहुने धारणा राखेका छन् । वास्तोलाले क्रान्तिकारी हुने की संशोधनवादी हुने भन्ने निर्णय केन्द्रीय समितिले गर्ने बताएका थिए । उनले संशोधनवादी लाईन पार्टीले लिए यही स्थितिमा रहन नसक्ने चेतावनी दिएका थिए ।

बैठकमा केही केन्द्रीय सदस्यहरुले निर्वाचनमा जानका लागि संगठन सुदृढ हुनु पर्ने बताएका छन् । संगठन मजवुत नभएको अवस्थामा निर्वाचनमा सहभागि हुँदाको स्थिति अकल्पनीय हुने हुँदा भाग बहिस्कारको नीति लिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले केही जिल्लामा पार्टी समिति समेत नबनेको अवस्थामा निर्वाचनमा भाग लिनु आत्मघाती हुने भन्दै निर्वाचनमा भाग लिन नहुनेमा जोड दिएका थिए ।

नेकपामा स्थानीय तह निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने भन्नेबारे नेकपामा विवाद छ । महासचिव विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा निर्वाचनमा सहभागी हुनुपर्ने लाइनमा छन् ।





error: Content is protected !!