जाजरकोट जिल्ला समन्वय समितिका उप–प्रमुखसहित १६० जना माओवादीमा प्रवेश
जाजरकोट जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानीप्रसाद आचार्य लगायतका १6० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई स्वागत गरेका हुन् ।
माओवादीमा प्रवेश गर्नेमा आचार्य, हिराप्रसाद आचार्य, नैने कामी, हर्कबहादुर विक, लिले वर, भाने वर, बलबहादुर विक, खिमबहादुर नेपाली, मोहन विक, रामकुमारी कामी लगायतको टीम रहेको नेकपा (माओवादी केन्द्र)जाजरकोटले जनाएको छ ।
नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका जिल्ला समन्वय समितिका उप–प्रमुख आचार्य झण्डै ३१ वर्षभन्दा लामो समय नेपाली काँग्रेस पार्टीमा रहेर सक्रिय राजनीति गरेका नेता हुन् । निष्ठा र समर्पणको राजनीति गर्दै आएका नेता आचार्य नेपाली काँग्रेस भेरी नगर कार्यसमितिका पूर्व सभापति हुन् ।
पूर्व जिल्ला कार्यसमिति कोषाध्यक्षको जिम्मेवारीमा रहेर पार्टीको महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्य नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाको पूर्व–उपसभापति पनि हुन् । नेपाली काँग्रेस, जाजरकोटको पार्टी निर्माणमा आचार्यको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।
त्यसैगरी भेरी नगरपालिका–११ का नैने कामी नेपाली काँग्रेसको पूर्व जिल्ला कार्यसमिति सदस्य हुन् भने आचार्य नगर कार्यसमिति सदस्य हुन् । नेपाली काँग्रेस वडा कार्यसमिति सचिव समेत रहेका हर्कबहादुर विक शंकर माध्यमिक विद्यालय जगतिपुरका व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । लिले वर नेपाली काँग्रेस वडा कार्यसमितिको पूर्व उपसभापति हुन् भने, भाने वर पूर्व वडाअध्यक्ष हुन् ।
बलबहादुर विक वडा कार्यसमिति सदस्य हुन भने, खिमबहादुर नेपाली तरुण दलको वडा समिति सदस्य हुन । मोहन विक, रामकुमारी कामी क्रियाशील पार्टी सदस्य मात्र भएता पनि बलियो जनाधार भएका नेतामा गनिन्छन् । हाल टुटफुटको अवस्थामा नपुगेता पनि नेपाली काँग्रेस गुटको राजनीतिबाट माथि उठ्न नसकेको जिल्ला समन्वय उपप्रमुख आचार्यले बताए ।
लामो समयसम्म देशमा एकलौटी राज गरेको काँग्रेस पार्टीसँग स्पष्ट भिजन र मार्गदिशा नभएको हुँदा देशले बेला–बेलामा ठुला–ठुला पीडाहरु भोग्नुपर्ने अवस्था आएको आचार्यको भनाई थियो ।