नाममै सीमित’ सहकारी नमुना गाउँ

हरि गौतम

रुकुम पश्चिम /  मुसीकोट नगरपालिका–१० का इन्द्रकुमार खड्काले बाख्रापालन गरेका छन् । दुई वर्षयता उनीसित २५ वटा बाख्रा छन् । तर ति बाख्रा उनका आफ्नै भने होइनन् । उनले स्थानीय छवि बहुद्देश्यीय सहकारीका बाख्रा भाडामा ल्याएर पालन गरिरहेका हुन् । उक्त सहकारीले बाख्रापालन गर्न नसकिने निष्कर्ष निकाल्दै बाख्रा नै लिजमा दिएको हो ।

बाख्रा पालन गरेवापत खड्काले सहकारीलाई प्रतिबाख्रा ५ सय रुपैयाँका दरले भाडा तिर्ने सम्झौता छ । ५ वर्षपछि खड्काले २५ वटा बाख्रा फिर्ता गर्ने सम्झौता पनि सहकारीसित गरेका छन् । सोही नगरपालिका–९ का डन्डबहादुर बुढाले ५ भैंसी र १ रांगो पालेका छन् । यी भैंसी र रांगो पनि बुढाका आफ्नै होइनन् । स्थानीय कामी बुढा स्मृति जनकृषि सहकारी संस्था लिमिटेडका भैंसी भाडामै ल्याएर उनले पालनपोषण गरिरहेका हुन् । बुढाले पनि सहकारीसित एउटा भैंसीको हरेक वर्ष ५ हजार रुपैयाँ तिर्ने मौखिक सम्झौता गरेका छन् ।

दुवैले लिजमा लिएका भैंसी र बाख्रा सहकारी नमुना गाउँ कार्यक्रमका हुन् । कर्णाली प्रदेश सरकारले मुसीकोट नगरपालिकाका–९ र १० नम्बर वडालाई सहकारी नमुना गाउँ निर्माण गर्न बजेट विनियोजन गरेको थियो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जिल्लास्थित कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत कार्यक्रम कार्यान्वयन गरेको थियो । सहकारी नमुना गाउँ निर्माणका लागि करिब डेढ करोड रुपैयाँ लगानी गरेको छ । आर्थिक वर्ष २०७५र०७६ मा १ करोड र आर्थिक वर्ष २०७६र०७७ मा ५० लाख रुपैयाँ सरकारले लगानी गरेको हो । नमुना गाउँ निर्माणका लागि उद्योग, कृषि तथा पशुपालन क्षेत्र पहिचान गरिएको थियो । सहकारीमार्फत उद्योग सञ्चालन गर्ने, कृषि र पशुपालन पनि सहकारीमार्फत गर्ने र सबै शेयर सदस्यलाई धनी बनाउने मन्त्रालयको योजना थियो । तर यो योजना सफल हुन सकेन ।

१० नम्बर वडाको छवि बहुद्देश्यीय सहकारीले मासुका लागि बाख्रापालन थालेको थियो । ९ नम्बर वडाको कामी बुढा स्मृति जनकृषि सहकारीले दूधका लागि भैंसीपालन थालेका थिए । दुवै सहकारीले सुरुमा २र२ गोठ निर्माण गरी बाख्रा र भैंसीपालन थालेका थिए । तर काम धेरै समय चल्नै सकेन ।

अहिले दुवै सहकारीका गोठ रित्तै छन् । १ सय बाख्रा किनेको छवि बहुद्देश्यीय सहकारीसित अहिले २५ बाख्रा छन् । त्यो पनि अरू कसैले भाडामा पालिरहेको छ । २० भैंसी खरिद गरेको कामी बुढा स्मृति सहकारीसित १ रांगो र ५ भैंसी मात्रै छन् ।

कार्यक्रमबाटै ९ नम्बर वडाकै सिर्जशील महिला आयआर्जन ऋण तथा बचत सहकारी संस्थाले मसला उद्योग सञ्चालन गरेको थियो । ३ वटै सहकारीले सहकारी नमुना गाउँ सफल हुन नसकेको स्विकारेका छन् । छवि बहुद्देश्यीय सहकारीकी अध्यक्ष जोखिमाया कठायतले काम गर्ने तरिका नजानेपछि सोचेअनुसार प्रगति गर्न नसकिएको बताइन् । सहकारीले इन्द्रकुमार खड्का र चक्रराम कठायतलाई २५र२५ वटा बाख्रा भाडामा दिएको थियो । तर कठायतले भाडामा लिइएका बाख्रा पाल्न नसकेपछि ति २५ बाख्रा सहकारीले बेचेको उनले जानकारी दिइन् । त्यसबापतको २ लाख ९ हजार रुपैयाँ सहकारीको खातामा छ । ‘बाख्रालाई घाँस पुगेन, दाना पुगेन,’ उनले भनिन्, ‘कर्मचारी पाल्न पनि समस्या भयो ।’ उनी सिर्जनशील सहकारीकी व्यवस्थापक हुन् । मसला उद्योग पनि अनुभव नहुँदा चल्न नसकेको उनको भनाइ छ । गाउँ आउने सडक निर्माण गर्दा उद्योगको भवनमा क्षति भएपछि कच्चा पदार्थ र उपकरणहरू एउटा ओढारमा राखेको सहकारीले जनाएको छ ।

कामी बुढा स्मृति सहकारीका अध्यक्ष शशिराम बुढाले सामूहिकताको विकास नभइसकेको अवस्थामा थालिएको व्यवसाय सफल नभएको बताए । ‘सहकारीको व्यवसाय सबैको भयो, यसमा कसले के कसले र कसरी गर्ने भन्ने नै अन्योलजस्तो हुँदा समस्या भएको हो,’ उनले भने, ‘सहकारीलाई नै असफल बनाउनुभन्दा भैंसी भाडामा दिइएको छ ।’

कार्यक्रमको कार्यान्वयनका लागि बजेट निकासा गरेको कृषि विकास कार्यालयले पनि सहकारी नमूना गाउँ ‘नाममा सीमित’ भएको जनाएको छ । ‘जुन उद्देश्यसहित सरकारले लगानी गरेको हो, त्यो पूरा हुने देखिएन,’ कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले भने ‘अब त सहकारी थिए रे भन्नेसम्मको अवस्था आइसकेको छ ।’ कार्यक्रम सफल नहुने भएपछि २ आर्थिक वर्षदेखि उक्त ठाउँमा बजेट नदिएको उनले जानकारी दिए ।





error: Content is protected !!