बिजुली नहुँदा मोबाइल चार्ज गर्नै धौ

जुम्ला ः जुम्लाको खलंगामा ६ महिनाअघि विद्युत्‌को राष्ट्रिय प्रसारण लाइन पुगे पनि विद्युत् आपूर्ति नियमित हुन सकेको छैन । जसका कारण जुम्ली नागरिकले भोग्दै आएको विद्युत् समस्या उस्तै छ ।

एक त बिजुली नआउने र आए पनि भोल्टेज नपुग्ने समस्याबाट स्थानीयवासी पीडित छन् । ‘कहिलेकाहीँ त मोबाइल चार्ज गर्न पनि मुस्किल हुन्छ,’ स्थानीय ईश्वरी देवकोटाले भने, ‘नाम मात्र राष्ट्रिय प्रसारण लाइन छ, योभन्दा स्थानीय उत्पादन नै ठीक थियो ।’ सुर्खेतदेखि कालीकोटसम्म ३३ केभीए विद्युत् लाइन आए पनि जुम्लामा भने ११ केभीए मात्रै लाइन पुगेको छ ।

जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुग्नुअघि घुघुतीस्थित साना जलविद्युत् उपभोक्ता समितिले विद्युत् आपूर्ति गरिरहेको थियो । समितिमार्फत उत्पादन भएको २ सय किलोवाट विद्युत्ले जुम्लामा १८ घण्टा लोडसेडिङ गरेर भए पनि विद्युत् आपूर्ति गरिरहेको थियो । समितिअन्तर्गत खलंगाबजारका झन्डै २ हजार घरमा बिजुली जोडिएको छ ।





error: Content is protected !!