शे–फोक्सुन्डो निकुञ्जमा स्याटेलाइट जडित तेस्रो हिउँ चितुवा पनि मृत फेला

काठमाडौँ — डोल्पाको शे–फोक्सुन्डो निकुञ्जमा गतिविधि अध्ययनका लागि घाँटीमा ‘स्याटेलाइट जीपीएस कलर’ जडान गरेर छाडिएका चारमध्ये तेस्रो हिउँ चितुवा पनि मरेको छ । ‘घांग्री घापी घिउल’ नाम दिइएको भाले चितुवा गत असोज १ मा निसाल क्षेत्रमा मृत अवस्थामा भेटिएको स्रोतले जनाएको हो । जीपीएस कलर झुन्ड्याएर बासस्थानमा छोडिएको त्यो तेस्रो हिउँ चितुवा थियो । मरेको फेला परेको ५ महिना बितिसक्दा पनि सरकारले उक्त घटनालाई औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
स्याटेलाइट कलर जोडिएको “घाङ्ग्री घापी हिउल” । तस्बिर सौजन्य शे–फोक्सुन्डो निकुञ्ज, डोल्पा
गत जेठ ५ मा ३ हजार ९ सय २५ मिटर उचाइको निकुञ्जको साल्दाङ ब्लकको राप्कामा ३७ किलो तौलको ७ वर्षे र जेठ ११ मा ३ हजार ७ सय १९ मिटर उचाइको साल्दाङकै धोरामा ३८ किलोको ६ वर्षे चितुवाको घाँटीमा स्याटेलाइट कलर जडान गरेर छाडिएको थियो । राप्कामा छाडिएको चितुवा हिँडेका संकेत जीपीएस ट्रयाकरबाट नआएपछि खोज्दै जाँदा पहाडको खोंचमा मृत भेटिएको थियो ।
शे–फोक्सुन्डोमा कलर जडान गरेर छाडिएका चारमध्ये अब ‘लांगेन’ नामको हिउँ चितुवा मात्र बाँकी छ । घांग्री घापी घिउल मर्नुको कारण पत्ता लगाउन निकुञ्जले त्यतिबेलै नमुना विधिविज्ञान प्रयोगशालामा बुझाएको थियो । प्रयोगशालाले अझै प्रतिवेदन दिएको छैन । त्रिपुरेश्वरस्थित भेटेरिनरीको प्रयोगशालाले भने विष सेवनबाट उक्त हिउँ चितुवा नमरेको प्रतिवेदन दिएको छ । बूढो भएको र लुतो लागेको अवस्थामै कलर गरिएकाले प्राकृतिक कारणले नै मरेको जानकारहरूले दाबी गरेका छन् । शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले यससम्बन्धी प्रतिवेदन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा बुझाइसकेका छन् । उक्त घटनालाई विभागले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
किन मर्दै छन् स्याटेलाइट कलरजडित वन्यजन्तु
२०७५ भदौ १५ मा शे–फोक्सुन्डो निकुञ्जका चारवटा हिउँ चितुवामा स्याटेलाइट जडान गर्ने वन तथा वातावरण मन्त्रालयको निर्णय थियो । त्यसअनुसार जेठमा थप दुईमा स्याटेलाइट कलर जोडिएको थियो । चीनको सिमानाबाट करिब १२ किलोमिटरको दूरीमा ती दुई हिउँ चितुवालाई स्याटेलाइट कलर गरेर छाडिएको थियो । नेपालका हिउँ चितुवा विचरण गर्दै चीनतर्फ जान्छन् कि जाँदैनन् भन्ने जानकारी प्राप्त गर्ने उद्देश्यले दोस्रो चरणमा ती दुईमा जीपीएस कलर जडान गरिएको थियो । त्यसअघि स्याटेलाइट कलर जोडिएका दुई हिउँ चितुवा सामलिङ र जेबोरोङ मरेको अवस्थामा भेटिएका थिए । तिनीहरूको पनि के कारणले मरे भन्ने खुलेको थिएन ।
स्याटेलाइट जीपीएस जडित जेबरोङु मर्यो
राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटीएनसी० को प्राविधिक र डब्लूडब्लूएफ नेपालको आर्थिक सहयोगमा दुई पटक गरेर हालसम्म चारवटा हिउँ चितुवामा स्याटेलाइट कलर जडान गरिएको छ । स्याटेलाइट कलर जडानपछि उक्त जन्तुको बानी, विचरणको क्षेत्र, आहारा प्रजाति व्यवस्थापन र संरक्षणका लागि अन्तरदेशीय सहकार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो । चितुवामा जर्मनीको भेक्ट्रोनिक एरोस्पेस कम्पनीले बनाएको स्याटेलाइट कलर जडान गरिएको थियो । उक्त सिस्टमले प्रत्येक ४ घण्टाको हिउँ चितुवाको अवस्थिति ९जीपीएस लोकेसन० दिन्छ । उक्त कलरले डेढ वर्षसम्म तथ्यांक दिने विज्ञहरूको भनाइ छ ।
हिउँ चितुवा जोगाउन ‘सिटिजन साइन्टिस्ट’
स्याटेलाइट जीपीएस जडान गरिएका हिउँ चितुवाको आनुवांशिक अध्ययन गर्न एवं डीएनए प्रोफाइल तयार गर्न रगतको नमुनासमेत लिइएको थियो । छाडिएपछि दुवै हिउँ चितुवाले सामान्य रूपमा आफ्नो बासस्थानमा ३ हजार ६९ देखि ४ हजार ९ सय ६० मिटरको उचाइसम्म विचरण गरेका थिए । जडान गरेका यन्त्रले दिने जीपीएस लोकेसन संकेतका आधारमा निकुञ्ज विभाग, डब्लूडब्लूएफ नेपाल र शे–फोक्सुन्डो निकुञ्जले चितुवाको गतिविधि अनुगमन गर्दै आएका थिए ।










