सुगममै आउन मान्दैनन् कर्मचारी

सुर्खेत ः २०७६ फागुनमा शाखा अधिकृत भएर इलाका प्रशासन पञ्चपुरी पुगेका मोहन देवकोटाले ४ महिना नबित्दै अवकाश पाए । उनको अवकाशपछि पञ्चपुरीस्थित इलाका प्रशासनमा कोही पनि अधिकृतस्तरका कर्मचारी जान नमानेपछि कार्यालय विगत ढेड वर्षयता नायब सुब्बाको भरमा चलिरहेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरदेखि झन्डै ६० किलोमिटर दूरीको कार्यालयमा कर्मचारी नै जान नमानेपछि पश्चिम सुर्खेतको ३ स्थानीय तहका सेवाग्राही सास्ती भोग्न बाध्य छन् । गत वर्ष जेठमा कम्प्युटर अपरेटर विशालजंग शाही पनि कार्यालयमा सरुवा भएर गएका थिए । उनले पनि ४ महिना नबित्दै मुख्यमन्त्री कार्यालयमा काज मिलाए । उनको रिक्त स्थानमा कोही नगएपछि अहिले करारमा कम्प्युटर अपरेटर भर्ना गरिएको छ । कार्यालयमा गुराँस गाउँपालिकाबाट सरुवा भएर गएका नायब सुब्बा बलवीर थापाले ढेड वर्षदेखि निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । कार्यालयमा ८ जनाको स्थायी दरबन्दीे भए पनि अहिले कार्यालय सहयोगीसहित ४ जना मात्र कार्यरत छन् ।
भूगोल र जनसंख्याको हिसाबले ठूलो क्षेत्र रहेको सुर्खेतको क्षेत्र नं। २ का स्थानीयको सेवा प्रवाह सहज बनाउन इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । जसको कार्यक्षेत्र बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका तोकिएको छ । निमित्त प्रमुख थापाले कर्णालीको सुगम ठाउँमै कर्मचारी आउन नमान्दा सेवा प्रवाहमा समस्या भएको बताए । उनका अनुसार कार्यालयमा शाखा अधिकृतसहित २ जना नायब सुब्बा, १र१ जना कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, सहायक लेखापाल र २ जना कार्यालय सहयोगीको दरबन्दी तोकिएको छ । उनले पछिल्लो समय कर्मचारीको रोजाइमा विकासे अड्डा पर्दा कार्यालयमा कर्मचारी आउन नमानेको बताए ।
उनका अनुसार आएका कर्मचारी पनि काजमा अन्य कार्यालयमा जाने समस्या छ । अहिले करारका कम्प्युटर अपरेटरले दैनिक ९० जनासम्मको नागरिकता बनाइरहेको कार्यालयले जनाएको छ । ‘कतिपय सेवाग्राहीहरू पालो नआएपछि फिर्ता हुन बाध्य छन्,’ उनले भने, ‘अधिकांशको काम २ दिनमा सकिने गरेको छ ।’दैनिक झन्डै १ सय जनासम्म सेवाग्राही आउने इलाका प्रशासनमा कामका लागि आएका स्थानीयहरू लामो समयदेखि सास्ती भोग्न बाध्य छन् । राष्ट्रिय परिचयपत्र बनाउन आएकी बराहताल गाउँपालिकाकी ५६ वर्षीया मनिसरा बस्नेतले झन्डै ५ घण्टा लाइन लागेपछि मात्र पालो आएको बताइन् । ‘कर्मचारी छैनन् भन्छन् हामी बूढाबूढीलाई एकछिन उभिन समस्या हुन्छ,’ उनले भनिन् । उनले बत्ती नहुँदा र इन्टरनेट नचल्दा सेवाग्राहीले सास्ती भोगिरहेको बताइन् । नागरिकता बनाउन आएकी चौकुनेकी कमला थापाले ५ घण्टापछि मात्र आफ्नो नागरिकता बनेको गुनासो गरिन् । पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले जनसंख्या र भूगोलका आधारमा स्थापना गरिएको इलाका प्रशासनले लामो समयदेखि कर्मचारीको अभाव भोगिरहेको बताए ।
उनका अनुसार अहिले कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेहरूको भीड छ । ‘४ जना कर्मचारीले के गर्ने यत्रो ३ स्थानीय तहका सेवाग्राहीलाई रु’ उनले भने, ‘नगरपालिकाले आफैं कर्मचारी राख्न नमिल्ने, गृह मन्त्रालयले नपठाउने ठूलो समस्या भयो ।’ उनले दरबन्दीअनुसारका कर्मचारीको पदपूर्ति हुन र कार्यालयको भवन निर्माण गर्न आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले इलाका प्रशासनमा कर्मचारी नभएको जानकारी आएपछि गृह मन्त्रालयमा कर्मचारी माग गरिएको बताए । केही दिनमै शाखा अधिकृतस्तरका कर्मचारी इलाका प्रशासनमा पठाइने उनको भनाइ छ ।










