पुर्वमुख्यमन्त्री महेन्द्र शाहीले घोषणा गरेको राहत पाउदै -कोरोनानाबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत

जाजरकोट / कोभिड–१९ संक्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम वितरण गरेको हो ।
पुर्वमुख्यमन्त्री महेन्द्र शाहीले घोषणा गरेको राहत रकम अहिले कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त भएको १७ लाखबाट रुपैयाँ प्रति मृतक परिवारलाई एक लाखको दरले नगद वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
कोभिड–१९ महामारीको समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका परिवारलाई उक्त रकमले केही राहत मिल्ले प्रजिअ देवकोटको भनाइ रहेको छ ।
कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण कार्यविधि २०७८ को अनुसुची १, २ र ३ मा उल्लेख भए बमोजिम सरकारले मान्यता दिएको ल्यावले प्रमाणित गरेको कोभिड– १९ संक्रमित भएको पिसिआर रिपोर्ट र एन्टिजेन्ट रिपोर्ट सक्कलै प्रति दुई मध्य कुनै एकलाई आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उक्त रकम उपलब्ध गराइएको छ ।
कोरोना संक्रमणबाट छेडागाड–६ का रत्नप्रसाद शर्मा, नलगाड–११ का भीमबहादुर मल्ल, नलगाड–७ का बिरबहादुर सिंह, नलगाड–५ की गंगादेवि शाही, नलगाड–४ का गणेशबहादुर रावल, नलगाड–३ का पठबिर थापा, भेरी–३ की कृण्णा शाह, भेरी–१० का तुलबिर राना, भेरी–४ की लिला नेपाली, भेरी–६ का सरी देवी खड्का, शिवालय–६ का हरिभक्त रोकाय लगाएत १७ जनाको ज्यान गएको थियो ।
कोरना संक्रमणले आफन्त तथा अभिभावक गुमाएका परिवारलाई राहत रकमले केहि राहत मिलेको बाबु गुमाएका नलगाड–४ का सुधन रावलले बताउनुभयो ।
कोरोना संक्रमणबाट मृत्यु भएका १७ जना मध्ये १४ जनाले रकम बुझि सकेको र ३ जनाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ संक्रमणबाट मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।
जाजरकोटमा कोरोना संक्रमितको संख्या ४४ पुग्यो
तेस्रो भेरियन्टको कोभिडबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य सेवा कार्यालयको प्रयोगशालामा १९ जनामा गरिएको स्वाब परीक्षणबाट १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा कार्यालयमा मात्र सक्रिय संक्रमितको संख्या ४४ पुगेको खत्रीले बताउनुभयो । ओमिक्रोनको संक्रमण फैलिएपछि यसको संख्या बढ्दै गएको हो । अन्य पालिकाको जानकारी नआएको भन्दै संक्र्रमितको संख्या बढ्ने खत्रीको भनाई रहेको छ । केहि महिना कोरोना संक्रमित शून्य रहेको जाजरकोटमा कोरोनाको तेस्रो लहर फैलिएपछि कोरोना संक्रमण दर बढेको छ । कोरोनाको दोस्रो लहरमा २ हजार जनामा संक्रमण देखिएको थियो भने १७ जनाको ज्यान गएको थियो ।
अहिले मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षण दायरा बढाउनुपर्ने जाजरकोट अस्पतालका मेडिकल अधिकृत डाक्टर औसर सिंह राठौरले बताउनुभयो । यस्तै, मंगलबार बाट बुस्टर जोड खोप दिन सुरु गरिएको छ । पहिलो दिन ३५ जनाले यो खोप लगाएका स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।










