नेपालकै सबैभन्दा उच्च स्थानमा सडक – डोल्पा र मुस्ताङ सडक सञ्जालमा जोडिँदै

जाजरकाेट / कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ सडक सञ्जालमा जोडिने भएको छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपल्लो डोल्पाको छार्का हुँदै मुस्ताङको साङ्ता जोड्न सडकको काम सुरूआत गरेको हो ।
वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ । यो कच्ची सडकमा सवारी सञ्चालनसमेत भइरहेको छ ।
साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ । साङ्ता गाउँ मुस्ताङको सबैभन्दा दुर्गम बस्ती हो । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ ।
समुद्री सतहदेखि ५ हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ ।
मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र छ ।
‘अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न यो सडक छोटो हुन्छ,’ उनले भने, ‘कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।’
वारागुङ मुक्तिक्षेत्र तथा मुस्ताङ जिल्लाको लाइफलाइन मानिने यो सडकको निर्माणले स्थानीयवासीको जनजीवनमा आमूल परिवर्तनको अपेक्षा गरिएको छ । मुस्ताङ हुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको सङ्ख्यासमेत बढ्ने छ ।
विभिन्न पाँच खण्डमा बनाइने सडकका लागि छुट्टाछुट्टै रकम विनियोजन भएको छ । एउटा खण्डका लागि ५ करोड, २/२ करोडका दुई खण्ड र १/ १ करोडका दुई खण्ड गरी पाँच खण्डमा सडक निर्माण हुन लागेको हो ।
भौतिक पूर्वाधार मन्त्रालयबाट निर्वाचन क्षेत्रका लागि आएको १० करोड रकममध्ये ४ करोड रकमसमेत यही सडकका लागि छुट्याएको छ ।



