माओवादी नेताको उपल्लो डोल्पा भ्रमण ः उपल्लो डोल्पाको सडकका लागि अर्ब बजेट

हेमन्त केसी
जाजरकोट / भेरी करिडोर अन्तरर्गत दुनै मरिम्ला सडक निर्माणका लागि अर्थमन्त्रालयले थप बजेटका लागि सहमती दिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेत र अर्थमन्त्री जनार्दन शर्मा, प्रतिनिधिसभा सदस्य सत्य पहाडीको उपल्लो डोल्पाको भ्रमण पछि थप बजेट उपल्लो डोल्पाका लागि अर्थमन्त्रालयले सहमति दिएको अर्थमन्त्री शर्माको निजी सचिवालयका कृष्ण केसीले जानकारी दिनुभयो । १ अर्व २० करोड बजेट निर्माणका लागि सडक डिभिजन चौरजहारीमा पुगिसकेको सडक डिभिजन चौरजहारीका प्रमुख धुर्वकुमार झाले बताउनुभयो ।

बाँकी २ अर्ब १५ करोड रुपैयाँ अर्थमन्त्रालयले सडकको लागि सहमति दिएको छ । भेरी करिडोर अन्तरर्गतको यो सडक भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्गको रुपमा रहेको छ ।
भेरीकोरिडोर अन्तर्गतको ट्रयाक खोल्न बाँकी रहेको दुनै–लासिक्याप–धो सडक खण्डको डिपिआरको १ अर्ब २० करोड बजेट कार्यान्वय भइरहेको र २ अर्ब १५ करोड बजेट अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई गत पुष महिनाको दोस्रो साता मन्त्रीस्तरिय निर्णयबाट सहमति दिएपछि दिइसकेको छ । बजेटको सुनिश्चितासँगै दुनै –लासिक्याप –धो सडक खण्ड बन्ने निश्चित भएसँगै उपल्लो डोल्पाका स्थानीयबासी खुसी भएका छन् । अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाइ बजेट सहमति सँगै सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाइ दिनु पर्ने डोल्पोबुद्द गाउँपालिका वडा नम्वर १ का अध्यक्ष ग्याल्पो थापा भोटेले बताउनुभयो ।

सरकारले भेरी करिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्दै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाइ महत्वका साथ हेरिएको छ । भेरी करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ ।
कर्र्णेल विश्ववन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गतका जाजरकोट –डोल्पा सडक निर्माण कार्य २०६५ मा सुरु भएको थियो । ट्याक औपनसँगै सेनाले उक्त ११८ किलोमिटर सडक २०७६ सालमै भौतिक पूर्वाधार मन्त्रालयलाइ हस्तान्तरण गरिसकेको छ ।
दुबैबाट चीनको सिमाना सम्मा रहेको मरिम नाकासम्मको कुल १ सय १० किलोमिटरमध्ये नेपालतर्फ ६० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक बन्न बाँकी छ । दुनैदेखि– धो सम्मको सडक निर्माण भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ । डोल्पा सदरमुकाम दुनैसम्म सडक सञ्जालले जोडिएपनि पुल नबन्दा सवारीसाधन आवतजावतमा निकै समस्या छ ।

बेलिबृज निमार्णको काम भने जारी छ । देशको उत्तर सिमाको सुरक्षा गरिरहेको माथिल्लो डोल्पाका तीन गाउँपालिका भित्रका जनताहरुले नेपाल तर्फ सडकको सुविधा नहुँदा वषौं देखि नागरिकता र सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम दुनै सम्म तीन दिन सम्म पैदाल यात्रा गर्नुपर्ने बाध्यता रहदै आएको छ । सम्पूर्ण खाद्य र अन्य सामनहरु महँगो मुल्यमा उपभोग गर्नु गरिरहेको छ ।
दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानै चट्टानले बनेका ठूला पहाडका कारण निर्माण कार्यमा ढिलाइ हुने देखिन्छ । स्थानीयका अनुसार अहिले यो बाटो मान्छेलाई नै जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्ने बताउँछन् ।
डोल्पा जडिबुटीको भण्डार भएकोले भेरी करिडोर अर्थात त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेश लगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुइमत छैन । केहि वर्ष अघि नेपाली सेनाले जाजरकोट–दुनै सडक खण्ड निर्माण पछि लासिक्याप, धो सडक खण्ड पनि नेपाली सेनाले नै बनाउनु पर्ने उपल्लो डोल्पाका जनताको माग थियो । तर जनताको अपेक्षा विपरित सेनालाई डोल्पाबाट षड्यन्त्रपूर्वक फिर्ता गरेपछि दुनै धो सडक निर्माण ओझेलमा परेको थियो ।
प्रचण्ड सहित अर्थमन्त्री समेतको उपर डोल्पा भ्रमण समयमा भएको भेलाको प्रतिबद्धता गरे अनुसार अहिले दुनै लासिक्याप धो सडक खण्डको निर्माणका लागि स्वीकृत भएपछि उपल्लो डोल्पाका जनतामा आसाका किरण पलाएका छन् । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सत्य पहाडीले भन्नुभयो , ‘ माथिल्लो भेगमा विशेष तरिकाले हेर्नुपर्छ भन्ने हाम्रो पुरानै भनाइ हो । हामीले भनेको गछौँ भन्ने प्रमाण पनि हो यो । माओवादी पिछडिएको, विकट र समस्यमुलक ठाउँको विकास र निकासका लागि नै जन्मिएको दल हो । ’ माओवादी जती उपल्लो डोल्पा बुझेको छ , त्यो भन्दा बढी कसैले पनि नबुझेको उहाँले बताउनुभयो ।








