तीन दिनदेखि हिमालपारीको गाउँ लिमी सञ्चार सम्पर्कविहीन

राजन रावत
हुम्ला ः जिल्लाको उत्तरी क्षेत्रको हिमालपारीको गाउँ लिमी तीन दिनदेखि सञ्चार सम्पर्क हुन सकेको छैन् । हिमपातले नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा र वल्डंलिंकको ईन्टरनेट सेवाले काम नगर्दा लिमी सम्पर्कविहीन भएको हो ।
लिमीका स्थानीय कुन्जोक तामाङले मंगलबारबाट लिमीमा सम्पर्क गर्न खोजेपछि हुन नसकेको जानकारी दिनुभयो । उहाँले भिस्याट टेलिफोन सेवा र वल्र्डलिंकको ईन्टरनेट सेवाले काम नगर्दा लिमी सम्पर्क बिहीन भएको जानकारी गर्नुभयो । नाम्खा गाउँपालिका–६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङसँग सम्पर्क गर्न खोज्दा टेलिफोनको रिङ गएपनि सम्पर्क हुन नसकेको उहाँले बताउनुभयो । सोलारको चार्जबाट यी सेवा सञ्चालन हुँदै आएका छन् ।
उहाँले हिमपात भइरहेको कारण घाम नलागेकोले पावरले काम नगर्दा लिमी सम्पर्कविहीन भएको हुन सक्ने बताउनुभयो ।। लिमी जानका लागि दुई वटा नाका नारा र न्यालु लेकमा हिमपातले बाटो अवरुद्ध भएको कारण आवतजावत बन्द भएको बताउँदै उहाँले आफन्तसंग सम्पर्क गर्न नसकिने अवस्था आएको बताउनुभयो ।
लिमीका तीन गाउँ तील, हल्जी र जाँङ गरी एक लाईन भिस्याट फोन सञ्चालनमा थियो । हिमपातले चार हजार मिटर भन्दा अग्ला बस्ती रहेका लिमीको एक गाउँबाट अर्को गाउँ जान सक्ने अबस्था छैन । मौसममा सुधार आएर घाम नलागेसम्म लिमीसं सम्पर्क नहुने अवस्था छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले उत्तरी हुम्ला सञ्चार सम्पर्कविहीन भएको बताउनुभयो । लिमीका तीन गाउँमा मात्र नभई चाला, यारी, मुचु लगाएका एक दर्जन गाउँबस्तीसँग सम्पर्क टुटेको छ । उहाँले हिल्सामा रहेको सीमा सुरक्षा चौकीसँग भने सम्पर्क भइरहेको छ ।



