फोन गरेर ओलीलाई प्रचण्डको निम्ता

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफै फोन गरेर पार्टीको आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा अतिथिको रुपमा निम्ता गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएकोमा प्रचण्डले ओलीलाई आफै फोन गरेर निम्ता दिएका हुन् ।

एमालेको महाधिवेशनमा प्रचण्डलाई निम्ता गरे पनि उनी सहभागी भएका थिएनन् । पार्टी विभाजनपछि दुई नेता पहिलोपटक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सँगै देखिएका थिए । प्रचण्डले फोन गरेर निम्ता गरेपछि जवाफमा अध्यक्ष ओलीले आफू झापामा भएको र कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने बताएका थिए । एमालेको महाधिवेशनमा माओवादीले लीलामणि पोखरेललाई सहभागी हुन पठाएको थियो ।

माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ । उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने तय भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम अब ३ बजेदेखि सुरु हुने भएको छ ।





error: Content is protected !!