कर्णालीको ब्रान्ड मार्सीधान संकटमा

विश्वकै अग्लो स्थानमा उत्पादन हुने जुम्ली मार्सीधानको चर्चा राष्ट्रिय अन्तराष्ट्रिय बजारमा बढ्दै गएको छ । स्वास्थ्यका लागि एकदमै उपयुक्त मानिने मार्सीधान पछिल्लो समय क्यानडा, अष्ट्रेलियालगायतका देशमा टनका हिसाबले निर्यात हुने गरेको छ । सीमित उत्पादन हुने मार्सीको माग भने असीमित रुपमा बढ्दै जाँदा किसान उत्साहित थिए ।

तर यो वर्ष मार्सीधान घर भित्र्याउनै लाग्दा कात्तिकमा भएको बेमौसमी वर्षाले जुम्लाका मार्सीफाँट डुवानसँगै काटेर राखेका धानहरु बगायो । बाढीले जुम्लाको तिला र तातोपानी गाउँपालिका केही मार्सीफाँट बगरमा परिणत भए । २ हजार ९ सय हेक्टर क्षेत्रफलमा मार्सीधानको खेती गरिएकोमा करिब २ हजार हेक्टरमा उत्पादन भएको धानमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । तिला र तातोपानीमा मात्रै १८ हेक्टर मार्सीफाँट डुवानमा परेको थियो ।

जसले गर्दा यस वर्ष मार्सीधान उत्पादन ह्वात्तै घट्ने देखिएको छ । गत वर्ष ६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादनको एकिन विवरण आउन बाँकी भएपनि विगतको तुलनमा उत्पादन गिरावट भएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकाटाले बताए । “मार्सीधान कर्णालीको ब्राण्ड हो । विश्व बजारमा माग बढ्दै गएको पनि छ । तर यस वर्षको बेमौसमी वर्षाले करिब ७ करोड बढीको मार्सीका क्षती भएको छ” उनले भने, “राहत उद्दारको काम हुन सकेको छैन । भर्खर चर्चामा आएको मार्सी ब्राण्डनै संकटमा पर्ने देखियो ।”

घर भित्र्याउनै लागेका धान बाढीले बगायो । मेहनत पनि बाढीसँगै बग्यो । तातोपानी २ का धनबहादुर बुढा भन्छन्,“सरकारले क्षतिका आधारमा राहत दिने भन्यो, स्थानीय तहले लगत संकलन गरेर राहत दिने भन्यो । तर अहिलेसम्म कतैबाट राहत पाइएन् । उमारशक्ती परीक्षण बिना भिजेको धान बिउ राख्न नमिल्ने रहेछ । अब बिउ पनि पाउन मुस्किल छ । मार्सीको जर्गेना गर्न बेलैमा ध्यान नदिए मार्सी ब्राण्डनै संकटमा पर्ने सम्भावना छ ।”

सरकारले भर्खरै मात्र ब्राण्डिङ गरेको मार्सीधान संकटमा प¥यो । माग बढेपनि उत्पादन घटेपछि मार्सी विस्तारै लोप हुने अवस्था छ । जिल्लाकै पहिलो मार्सीधान खेती भएको तातोपानीको लाछु ज्युलोको २५ प्रतिशत डुबानमा परेर बगर बनेको छ ।
चैत नजिकिँदै गर्दा बीउ कसरी राख्ने भन्ने चिन्ता छ । मार्सीफाँट डुवानमा परेपछि उत्पादनसँगै उत्पादकत्वमा पनि ह«ास आएको छ । भर्खर राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा चर्चा कमाएको कर्णालीको ब्राण्ड नै बनेको मार्सिधानको पहिचानै संकटमा पर्ने स्थिति छ । बाढी पीडित किसानले तीनै तहका सरकारलाई क्षतिका आधारमा दिने राहत तत्तकाल दिन तथा डुवानमा परेका खेत नापी नक्सा गरिदिन माग गरेका छन् ।





error: Content is protected !!