उपल्लो डोल्पामा छैनन् कर्मचारी ः डो«नबाट निगरानी गफमै सिमित ?

हेमन्त केसी
डोल्पा  / शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका उपल्लो डोल्पामा रहेका ४ वटा सुरक्षा पोष्टहरु कर्मचारी विहिन हुँदै आएका छन् । जम्मा ८ बटा सुरक्षा पोष्ट रहेको निकुन्जमा हाल ४ पोष्ट कर्मचारी विहिन भएका हुन् ।

शे गुम्वा , नाम्दो , सालदाङ र मुगुमा रहेको किम्री पोष्टमा कर्मचारी नहुँदा नियमित बन्यजन्तु संरक्षण गर्ने समस्य भएको हो । सदरमुकाम नजिक रहेका तोइजम, सुम्दुवा र मुख्य कार्यालय सुलिगाडमा मात्र कर्मचारी रहेका छन् । ६७ जना कर्मचारीको दरबन्दी रहेको निकुन्जमा अधिकृत ३ जना , रेन्जर ६ जना , नायवसुब्बा १ , लेखापाल १ ,खरिदार २ , सिनियर गेम स्काउट १३ , गेम स्काउट ३९, कार्यालय सहयोगी १ , सयस १ जनाको दरबन्दी रहेको छ ।

अहिले निकुन्जमा कार्यालय प्रमुख लालबहादुर भण्डारी कार्यरत हुनुहुन्छ । अन्य दुइ अफिसर खाली रहेको छ । शे गुम्वामा , नाम्दो , सालदाङ र मुगुमा रहेको किम्रीमा गरि २३ जना कर्मचारी नहुँदा काम गर्न मुस्किल भएको छ । हिमपातको कारण देखाउदै उपल्लो डोल्पामा सुरक्षा गस्ती नै बन्द गरिएको छ । हिमपातले बाटोमा पहिरो गएको भन्दै नाउर , हिउँचितुवा लगाएतका बन्यजन्तुको निगरानी समेत प्रभावकारी हुन नसकेको हो ।

कर्मचारी बस्न नसक्ने र भारी हिमपात हुने ठाउँमा अघिल्लो वर्ष तत्कालिन कार्यालय प्रमुख सरोजमणी पौडेलले जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकबाट ड्रोन क्यामेरा तथा अरु पनि प्रविधिमार्फत निगरानी गर्ने निर्णय गराएका थिए । त्यो भन्दा पछाडी दुइ कार्यालय प्रमुख निकुन्जले पाइसकेको छ । निर्णय भएसँगै सम्भाव्यता अध्ययन गर्ने भनिएको काम अहिले सम्मा प्राथमिकतामा पर्न सकेको छैन ।

सोमबार देखि नै हिउँ चितुवाको आहारा प्राजतीको गणनाको काम सुरु गरिएको डब्लु डब्लु एफ नेपालका फिल्ड अफिसर चन्द्र जंग हमालले जानकारी दिनुभयो । उहाँका अनुसार नाउरसँगै उहाँका अनुसार झारल, कस्तुरी, मृग, फेमुसा, चिरु र तिब्बती गधासमेत गणना हुने भएको छ । डब्लु डब्लु एफ नेपालको प्राविधिक सहयोगमा बिभिन्न कामहरु भइरहेका छन् । अध्ययन , अनुसन्धान ,हिउँ चितुवाको बास स्थान लगाएतका कुरामा समेत डब्लु डब्लु एफ नेपालले नै अध्ययन गरिरहेका हमालले जानकारी दिनुभयो ।
त्यस्तै डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा यूक्त निकुन्ज रहेको छ । आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान रहेको हमालले बताउनुभयो ।

अघिल्लो गणना अनुसार निकुन्जमा नावरको संख्या २ हजार ४२ बाट बढेर ४ हजार १ सय ३६ पुगेको थियो । वर्षमा दुइ पटक नाउरको गणना हुने गर्दछ । हिउँ चितुवाको मुख्य आहारा नाउर हो । शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा हिउँ चितुवाले नै सबैभन्दा बढी नाउर ,चौरी–याक मार्ने गरेको छ । जानकारका अनुसार हिउँ चितुवाको घनत्व बढी भएका कारण पशु चौपाया मार्ने घटनामा वृद्धि भएको हो ।

शे–फोक्सुन्डो निकुञ्जमा दुईवटा हिउँ चितुवामा “स्याटेलाइट जीपीएस कलर” जडान गरेर हिउँ चितुवाको निगरानी र अन्य सबै कुराको हेरदेख गर्दै आएको छ । २०७८ जेठ ५ गते ३ हजार ९२५ मिटर उचाइको साल्दाङ ब्लकको राप्का भन्ने स्थानमा ३७ किलोग्रामको ७ वर्षे र ११ गते ३ हजार ७१९ मिटर उचाइको साल्दाङकै धोरा भन्ने स्थानमा ३८ किलोको ६ वर्षे हिउँ चितुवाको घाँटीमा स्याटेलाइट कलर जोडिएको हो । दुवै भाले हुन् ।

कलर गरिएको स्थान चीनको सिमानाबाट करिब १२ किलोमिटरको दूरीमा रहेको छ । यी हिउँ चितुवा विचरणका लागि चीनतर्फ विचरण गर्न जान्छन् कि जाँदैनन् भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । पहिलो हिउँ चितुवाको नाम “घांग्री धापी हिउल” र दोस्रोको “लांगेन” राखिएको थियो । यसअघि गत वर्ष स्याटेलाइट कलर जोडिएका दुईवटा हिउँ चितुवा (सामलिङ र जेबोरोङ) मृत्यु पछि दोस्रो पटक फेरी स्याटेलाइट कलर जडान गरिएको थियो ।

२०७५ को भदौ १५ मा शे–फोक्सुन्डो निकुञ्जका ४ वटा हिउँ चितुवामा स्याटेलाइट जडान गर्ने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार थप दुई वटामा यो पटक स्याटेलाइट कलर राखिएको थियो । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को प्राविधिक र डब्लूडब्लूएफ नेपालको आर्थिक सहयोगमा स्याटेलाइट जडान गरिएको हो । स्याटेलाइट कलर जडानपछि हिउँ चितुवाको आनिबानी, व्यवहार, विचरणको व्यवस्थापन, अन्तरदेशीय सहकार्यलगायत हिउँ चितुवाको र यसको आहार प्रजाति संरक्षणको पहिचान गरी रणनीति बनाउन सहयोग पुग्ने अपेक्षा छ । जडान गरिएको स्याटेलाइट कलरले प्रत्येक ४ घण्टाको हिउँ चितुवाको अवस्थिती (जीपीएस लोकेसन) दिने गरेको छ । यो कलरले १८ महिनासम्म तथ्यांक दिन्छ ।

हिउँ चितुवा निकुञ्जमा हाल १२० देखि १३० वटा सम्मको संख्यामा रहेको एक अध्ययनले देखाएको छ । डब्लु डब्लु एफ नेपाल र शे–फोक्सुणडो राष्ट्रिय निकुञ्जको सहकार्यमा रेडियो कलरिङ(जिपिएस) मार्फत हिउँ चितुवाको संख्या पत्ता लागेको हो । सन् २०१९ मा जेब्रम र स्याम्लिङ नामक हिउँ चितुवालाई रेडियो कलरिङ(जिपिएस)जडान गरिएको र केहि समय पनि दुवैको मृत्यु भएको थियो । अहिले सम्मको रिपोर्ट अनुसार हिउँ चितुवाको अवस्था राम्रो रहेको बताएको छ ।

३ हजार ५ सय ५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाको साथै माथिल्लो डोल्पामा फैलिएको छ । मुगुको मुगमकार्मारोङ गाउँपालिकाले पनि निकुञ्जको ८ सय २९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर ), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल समेत रहेको छ ।





error: Content is protected !!