देउवा झन् शक्तिशाली

शेरबहादुर देउवा १३औँ महाधिवेशनको भन्दा पनि शक्तिशाली बनेका छन् । अघिल्लो महाधिवेशनमा उनको साथमा नभएका ‘सिनियर’ नेताहरूसमेत यसपटक उनीसँगै उभिएका छन् । जसले उनलाई आगामी दिनमा पार्टी चलाउन सहज हुने देखिन्छ । १३औँ महाधिवेशनमा देउवाले सभापतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका थिए । निर्वाचन दोस्रो चरणमा गएपछि सिटौलाको समर्थन पाएर उनी सहजै निर्वाचित भएका थिए । त्यतिवेला पौडेलको प्यानलबाट उपसभापति लडेका प्रकाशमान सिंह पनि अहिले देउवाको पक्षमा उभिएका छन् ।

सभापतिको उम्मेदवार बनेका सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरे । त्यस्तै, अघिल्लो महाधिवेशनमा सँगै प्रतिस्पर्धा गरेका पौडेल यसपटक तटस्थ बस्दा देउवालाई सहयोग हुने वातावरण बन्यो । त्यति मात्रै होइन, परिवारकै सदस्य डा। शेखर कोइराला उम्मेदवार हुँदा पनि निवर्तमान महामन्त्री तथा बिपीपुत्र शशांक कोइरालासमेत तटस्थ बसे । यसले पनि देउवालाई बलियो बनायो । लामो समय देउवाकै गुटमा रहे पनि यसपटक उनीबाट टाढिएर सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधिसँगको सम्बन्ध पनि दोस्रो चरणको निर्वाचनले सुमधुर बनाइदियो र उनी पनि देउवाकै पक्षमा उभिए ।

चाक्सीबारीस्थित घरमै पुगेर प्रकाशमानलाई फकाए

पहिलो चरणको मतदानको नतिजा आएलगत्तै देउवा र उनीनिकट नेताहरू सिंह र निधिलाई फकाउने प्रयासमा लागेका थिए । बिहान साढे १० बजे चाक्सीबारीस्थित निवासमै पुगेर नेता सिंहसँग वार्ता गरे । पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने सहमतिपछि आफूले सभापतिमा देउवालाई समर्थन गरेको प्रतिक्रिया सिंहले दिए । ‘आगामी दिनमा पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने र कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने सहमति भएको छ,’ भेटपछि सिंहको भनाइ थियो, ‘यसैअनुसार दोस्रो चरणमा सभापतिमा शेरबहादुरजीलाई समर्थन हुन्छ ।’

पहिलो चरणमा देउवाले धेरै मत ल्याएकाले पनि उनलाई समर्थन गरेको सिंहको भनाइ थियो । दुई नेताबीचको भेटपूर्व देउवानिकट नेता बालकृष्ण खाण र कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर सिंहलाई भेट्न बिहान साढे ७ बजे नै चाक्सीबारी पुगेका थिए, जतिवेला मतगणना सकिइसकेको थिएन । साँझ विज्ञप्ति निकालेर सिंहले देउवासँग कुनै पदीय लेनदेन नभएको दाबी गरेका छन् । ‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभावअनुरूप उहाँलाई समर्थन गरेको हुँ,’ सिंहले भनेका छन् ।

देउवासँगको भेटपछि विमलेन्द्रले निकाले विज्ञप्ति

पहिलो चरणको निर्वाचनको नतिजा आएलगत्तै बिहान साढे ११ बजेतिर देउवा विमलेन्द्र निधिको निवास बानेश्वर पनि पुगेका थिए । दुई नेताबीचको छलफलपछि निधिले सभापति देउवालाई समर्थन गर्ने घोषणा गरे । ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु,’ निधिले विज्ञप्ति जारी गर्दै भनेका थिए । देउवालाई समर्थनको घोषणापूर्व निधिले सिंहसँग पनि कुराकानी गरेका थिए । निधिको समर्थन पाएको भए देउवा पहिलो चरणमै सभापति बन्ने मतपरिणामले देखाएको थियो ।

चियापनामा पुगेर पौडेलेको प्रशंसा गरे

पहिलो चरणको निर्वाचनमा तटस्थ बसेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि देउवाले बिच्कन दिएनन् । बरु, महाधिवेशन प्रतिनिधिको सम्मानमा पौडेलले बिहान राखेको चियापान कार्यक्रममा पुगेर उनको प्रशंसा गरे । ‘हामीले सँगसँगै लोकतन्त्र प्राप्तिका लागि संघर्ष गर्‍यौँ र जेलजीवन पनि बितायौँ । उहाँजस्तो महान् नेताले बोलाएको चियापानमा आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ । पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्परा कायम राख्नुपर्छ,’ देउवाको भनाइ थियो । कार्यक्रममा पौडेलले आफू तटस्थ रहने प्रस्ट संकेत गर्दै भने, ‘आफ्नो विवेकको सही प्रयोग गर्न मतदातालाई आग्रह गर्छु ।’ उनी दोस्रो चरणमा पनि मतदानमा सहभागी भएनन् ।

बिपीपुत्र शशांक पनि तटस्थ बसे

शशांक कोइराला दोस्रो चरणमा पनि तटस्थ बसे । देउवाले मंगलबार उनीसँग पनि भेट गरेका थिए । कोइराला परिवारबाटै शेखर सभापतिको उम्मेदवार भए पनि शशांकले उनको पक्षमा भोट मागेनन् । बरु, लगातार विवेक प्रयोग गर्न मतदातालाई आग्रह गरिरहे । बिपीपुत्र शशांकको तटस्थता पनि देउवाका लागि अनुकूल बन्यो । उम्मेदवारी दर्ता गर्ने दिन पनि २५ मंसिरमा देउवा र शशांकबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।





error: Content is protected !!