डोल्पाको पीडा -चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी

हेमन्त केसी
डोल्पा , २६ मंसिर ः उपल्लो डोल्पामा खाद्यान्नको मुल्य भन्दा ढुवानीको मुल्य बढी पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरण अनुसार उपल्लो डोल्पाको सालदाङ विक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी रु ९० पर्ने गर्दछ । प्रतिक्वीन्टल उपल्लो डोल्पाको सालदाङमा जिराको मुल्य रु ७ हजार , मोटाको ५ हजार र सोना ५ हजार ६०० रुपैयाँमा कम्पनीले उपलव्ध गराउदै आएको छ । सुर्खेत देखि धो सम्मको प्रतिकेजी रु ६५, धारगाउँ ५६ रुपैयाँ र सालदाङमा ९० रुपैयाँमा प्रतिकेजी चामलको ढुवानी भाडा लाग्दै आएको छ ।

सबै भन्दा बढी सालदाङमा चामल पुर्याउन ९ हजार रुपैयाँ ढुवानी भाडा लाग्छ भने चामलको मुल्य सबै भन्दा बढी प्रतिक्वीन्टल रु ७ हजार रहेको छ । जव कि ढुवानी भाडा चामलको मुल्य भन्दा २ हजार बढी रहेको छ । निजी क्षेत्रबाट विक्री गर्ने चामलमा ३० केजीको चामललाइ ‘ धो ’ मा ६ हजार पर्छ भने ‘तिन्जे’ मा रु ७ हजार पर्ने गरेको डोल्पोबुद्ध गाउँपालिका – १ का पेमा गुरुङले बताउनुभयो । ७ हजार रुपैयाँ तिरेर पनि खाद्यान्न पाउन नसकेको उहाँले बताउनुभयो ।


हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल समेत ढुवानी कार्य रोकिएको छ । चामल ढुवानीको जिम्मेवारी लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा अहिले समस्य आएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताउनुभयो । ५०० कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिले सम्मा १८० क्वीन्टल मात्र चामल पुगेको छ ।

डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्वन्टल कोटा रहेकोमा चामल ढुवानी गर्ने जिम्मवारी लिएको ओम जय दुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिले सम्मा चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ । त्यहाँ अहिले हिमपात भएकाले ढुवानी गर्न समेत मुस्किल भएको होे । त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमुना ढुवानी सेवाका चेतकुमार शाहीले अहिले सम्मा चामल ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्वीन्टल चामल ढुवानी गर्ने सहमती छ ।

यि सबै कम्पनीका विक्री केन्द्रहरु हुन् । कम्पनीले तल्लो डोल्पाको जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्वीन्टल , जुफालमा ३६० क्वीन्टल र दुनैमा ५१० क्वीन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्याएको छ भने उपल्लो डोल्पामा अहिले सम्मा यो आर्थिक वर्षमा एक गेडा चामल लिइएको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो ।

सदरमुकाम दुनैमा भरिभराउ चामल रहेको छ भने उपल्लो डोल्पामा खाद्यान्न ढुवानी नहुँदा निकै समस्य भएको धो का पेमा गुरुङले बताउनुभयो । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाइ मार्ग बाहेक अन्यमा सम्भावना नरहेको सर्बसधारणहरु बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्बसाधारणहरु मर्कामा परेको गुरुङले बताउनुभयो । उपल्लो डोल्पाका तीन पालिकामा अधिकांश बस्तीमा उवा वर्षमा एक पटक मात्र फल्ने गर्दछ भने केही ठाउँमा गहुँ पनि फल्ने गर्दछ ।

अत्यधिक चिसो मौसम भएका कारण वर्षमा एक बाली मात्र पाक्ने गरेको हो । उक्त अन्नले तीन महिना पनि खाना नपुग्ने यहाँका स्थानीयवासी बताउँछन् । जडीवुटीको भण्डारको रुपमा रहेका उपल्लो डोल्पामा अधिकांश भुभाग शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले घेरिएको छ । पशुपालन र जडीबुटी उपल्लो डोल्पाको आम्दानीको स्रोत हुन् । सोही आम्दानीबाट नै खाद्यान्न देखि अन्य सबै खालका समस्यहरु समाधान गर्नुपर्ने उपल्लो डोल्पाका सर्बसाधारणको बाध्यता रहेको छ । जनजाती समुदायको बाहुल्यता रहेको यहाँ चिनको सिमाना नजिक भएकाले सिमा रक्षक रुपमा समेत आफूलाइ उभ्याउदै आएका छन् ।
चिनको नाँका हुँदै खाद्यान्न ढुवानी हुँदै आएकोमा दुइ वर्ष देखि चिनको बाटो कोभिडका कारण बन्द भएपछि दुनैबाट नै चामल ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । वर्षमा १५ दिनको लागि हाटबजार खुल्ने गरेको चिन र नेपाल तर्फको सिमाना कोभिडका कारण दुइ वर्ष देखि बन्द भएको छ ।

सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकेजी ९० रुपैयाँमा खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पुर्याउने गर्दछ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पा सम्मा लिएर ८८ रुयैयाँ देखि १०० रुपैयामा ढुवानी हुने गर्दछ । जसका कारण निजी क्षेत्रले उपल्लो डोल्पामा रु २ सय ४० रुपैयाँ सम्मा प्रतिकेजी चामल खरिद गरेर खानुपर्ने बाध्यता रहेको छ ।





error: Content is protected !!