एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।
भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए ।
‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका छौं । यस्तै, पार्टी प्रवेश अभियान सञ्चालन हुनेछ । एमालेको विचार, सिद्धान्त स्वीकार गरेर पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिने’दयगत पार्टीले अभियानको रूपमा अगाडि बढाउने छ । यो अभियान फागुन महिनासम्म सञ्चालन हुन्छ,’ थापाले भने ।
बैठकमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको समीक्षा भएको छ । बैठकको सुरुमा यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराइएको थियो । यस्तै, केन्द्रीय कमिटी सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको गरिएको छ ।
आइतबार बिहान ११ पुनः बैठक बस्नेछ । बैठकमा स्थायी कमिटी गठन, पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन विभिन्न एजेन्डामा छलफल भइरहेको छ । बैठकमा अध्यक्ष पदमा पराजित भीम रावल भने अनुपस्थित रहेका छन् ।
यस्तै, बैठकले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरालाई चयन गर्ने निर्णय गरेको छ । बैठकले बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको सचिव योगेश भट्टराईले बताए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्षका लागि प्रस्ताव गरेका हुन् । बोहोरा यसअघि उमेर हदका कारण एमालेको सक्रिय राजनीतिबाट बिदा लिएका थिए ।
यसअघि उनी अनुशासन आयोगको अध्यक्ष रहेका थिए । बैठकमा बिभिन्न विषयमा छलफल गर्दै सोमबार सकिनेछ ।








