प्रस्तावित संरक्षण क्षेत्रमा कस्तूरी मारिए , तस्कर पक्राउ परेपछि डिएसपी हटाउन माग गर्दैै नेताहरु गृहमन्त्रालय

हेमन्त केसी
जाजरकोट –  राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चारवटा कस्तूरी मारिएको तथ्य सार्वजानिक भएको छ ।

असोज महिना लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु ४ वटा कस्तूरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताउनुभयो । जुम्लाका व्यापारीले बारेकोटका स्थानीयसँग मिलेर कस्तूरीलाइ पासो हालेर मारेको तथ्य सार्वजानिक भएको सिंहले जानकारी दिनुभयो  ।

सरकारी संयन्त्र गतिलो नहुँदा वन्यजन्तु संरक्षणको लागि बारेकोटमा काम हुँन नसकेको हो । अधिकृत सिंहले भन्नुभयो ,‘ १ महिनामा १ जनाले ४ वटा मारेको खबर थियो ,म जंगल जाँदा यो त नमुना समेत फेला परे । डोल्पा, जुम्ला बाट कुकुर ,पासो र बन्दुक सहित आएका सिकारीले १ सिजनमा ७/ ८ वटा कस्तुरी मार्छन । मुल्साम जिरिमा पनि मार्छन भन्ने कुरा छ । दाँत प्रति १००० हजारका दरले विक्री गरेको खबर आएको छ । ’

३ वर्षमा प्रहरीले बरामद गरेका १९ वटा लोपोन्मुख रेडपाण्डाका छालामध्ये १० वटा जाजरकोटबाटै गएको गाउँपालिकाको तथ्यांक छ । घटनामा ८ जना जाजरकोटका युवा पक्राउ परेका छन् । गत आइतबार मात्रै बारेकोटको मुलसामका ३५ वर्षीय लोकबहादुर रोकायलाई प्रहरीले रेडपाण्डाको छालासहित सेपुखोलाबाट पक्राउ गरेको थियो ।

कस्तूरी प्रजजन केन्द्र स्थापना काम हुँदै
बारेकोट गाउँपालिका–९ सक्लामा कस्तूरीपालन तथा प्रजनन केन्द्र स्थापना गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको छ  । कोषले प्रजजन केन्द्र बनाउनका लागि १ करोड १८ लाख रुपैयाँमा काम भइरहेको छ । कोषका वरिष्ठ संरक्षण अधिकृत डा नरेश सुवेदीले केन्द्रका लागि यस वर्ष १ करोडकै हाराहारीमा बजेट विनियोजन भइ काम भएइरहेको बताउनुभयो  ।

उहाँका अनुसार भवनको काम सकिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन वा डोल्पाबाट बीउ कस्तूरी ल्याएर प्रजनन केन्द्र स्थापना गरिने छ । नेपालमा वन्यजन्तु प्रजनन र व्यावसायिक पालनका लागि कानुन निर्माण भएपछि प्रजजन केन्द्र स्थापनाको लागि बाटो खुलेको हो ।

त्यस्तै मासुका मासुका लागि जरायो, चित्तल, रतुवा, घोरल, बँदेललगायत वन्यजन्तु पाल्ने नियमावली पास भएसँगै थप बाटो खुलेको हो  । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन भने बाँकी रहेको छ ।

तत्कालिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा संरक्षित क्षेत्र बनाइ सक्लामा कस्तूरीको प्रजजन केन्द्र बनाइ जाजरकोटबासीले लाभ लिन सक्ने भन्दै यो योजना अगाडी सारेका थिए । प्रहरी चौकी अगाडी नै बारेकोटको जंगलमा चोरी सिकारीका लागि बन्दुक पड्काएको आवाज सुनिने गरेको छ । सानो संख्यामा रहेको प्रहरी सो क्षेत्रमा पुग्न भारी समय लाग्ने भएकाले सुरक्षा दिन समेत चुनौती हुँदै आएको छ ।

छिमेकी जिल्लाहरु जुम्ला र डोल्पा सँग सिमानासँग जोडिएको बारेकोटमा चोरी निकारी गर्न सहज रहेको छ । डिभिजन वन कार्यालयका कर्मचारीहरु अधिकांश समय सदरमुकाम बसेर दिन कटाउने गरेका छन् । स्थानीय जनप्रतिनिधिहरु सर्वसाधारणसँग सम्वन्ध विग्रने डरले चोरी निकासी भएपनि चुप लागेर बस्ने गरेका पाइएको छ । बारेकोट गाउँपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले व्यक्तिगत रुपमा जंगलमा राखिएका पासोहरु नष्ट गर्ने काम गरिएको बताउनुभयो ।

चोरी निकासी रोक्ने प्रहरी प्रमुख हटाउन नेताहरु गृहमन्त्रालय
बारेकोटमा भारी मात्रामा चोरी निकासी हुने गरेको सूचना आधारमा पछिल्लो समय प्रहरीले आफ्नो अभियान आक्रमक बनाएको छ । बारेकोट तथा अन्य ठाउँबाट दर्जन बढी हतियार , तस्करहरुलाइ कब्जामा लिइ मुद्धा चलाइरहेको डिएसपी मधुकुमार थापाले बताउनुभयो ।

स्थानीयबासीबाट असहयोग हुँदा काम गर्न मुस्किल भएको डिएसपी थापाले दुखेको गर्नुभयो । प्रहरीको अभियान आक्रमक भएपछि डिएसपी हटाउन माग गर्दै नेताहरु गृहमन्त्रालय समेत पुगेको थिए । वषौदेखि बदमासी गरेर व्यापार गर्दै आएका सञ्जालको जालो भत्किएपछि अहिले तस्कारको रुवाबासी भएको सर्बसाधारणहरु बताउछन् ।





error: Content is protected !!