छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

जाजरकोट , २३ मंसिर ः सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरु पठनपाठनको समयमा हरेक दिन वेहोस हुन थालेपछि आइतवार सम्मका लागि विद्यालय बन्द गरिएको छ ।

६ कक्षा देखि १० कक्षा सम्मका छात्राहरु पठनपाठनकै समयमा केही दिन यता अकस्मात वेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए । भुत लागेको भन्दै छात्राहरु काप्ने, कराउने, रुने गर्न थालेपछि केही दिन यता पठनपाठन समेत प्रभावित भएको छ । बिहीवार १० जना भन्दा धेरै छात्राहरुमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतवार सम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए । केही बेर बेहोस हुने कराउने गरेपछि आफै ठिक हुने गरेको उनले बताए । केही समय पछि फेरी अरु छात्रालाई समेत यस्तो समस्या देखिएपछि बिहीवार मध्यान्तर पछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

केही समय अघि विद्यालयको छात्राबासमा बस्ने १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी थिइन । आत्महत्या गरेकी ति छात्राको प्रेत चढेको विद्यार्थीहरुको भनाई छ । जिल्ला अस्पतालका चिकित्सकले त्रिभुवन माविका छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया भएको बताएका छन् । डा समिक्षा मल्लले छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया भएकोले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरे विस्तारै समस्या आफै समाधान हुने बताउँछिन । यता विद्यालयले भने आत्महत्या गरेकी छात्राको आत्म शान्तिका लागि विद्यालयमा पुजापाठ र होम गर्ने जनाएको प्रवाहमा खवर छ ।





error: Content is protected !!