पालिकाहरूमा बने अस्पताल

रुकुम पश्चिम ः स्वास्थ्य संस्थाहरूको संख्या थपिँदै गएपछि स्थानीयको उपचारमा पहुँच बढेको छ । वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयले सहजै उपचार पाउन थालेका हुन् ।

अहिले एउटा वडामा कम्तीमा एक जना अहेव र एक जना अनमी छन् । ससानो उपचारका लागि स्थानीयले वडा छाड्नुपर्ने बाध्यता टरेको छ ।

आधारभूत स्वास्थ्य इकाईमार्फत सर्वसाधारणले वडा तहमै आधारभूत तहको स्वास्थ्य सेवा पाएका छन् । त्यस्तै गाउँपालिका र नगरपालिकामा स्थानीयले चिकित्सकबाटै उपचार सेवा पाइरहेका छन् ।

जिल्लामा ६ स्थानीय तह छन् । स्थानीय तह कार्यान्वयनमा आएसँगै स्वास्थ्य संस्थाको संख्या पनि बढेको हो । ६ स्थानीय तहमा ६ वटा अस्पताल छन् । दुई अस्पताल पुराना हुन् भने ४ स्थानीय तहले आफैं डाक्टरसहितका अस्पताल सञ्चालनमा ल्याएका छन् । मुसीकोट नगरपालिकामा जिल्ला अस्पताल र चौरजहारीमा चौरजहारी अस्पताल पहिल्यै थिए । आठबीसकोट नगरपालिकाले ९ नम्बर वडाको राडीमा नगर अस्पताल सञ्चालन गरेको छ । चौरजहारीले १० नम्बर वडाको खोलागाउँ, सानीभेरीले ७ नम्बर वडाको छोटेबगर र त्रिवेणीले ३ नम्बर वडाको खारानेटामा अस्पताल सञ्चालन गरेका छन् ।

६ वटै स्थानीय तहले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छन् । कुनै वडामा त दुई वटासम्म स्वास्थ्य केन्द्र स्थापना गरिएको मुसीकोट नगरप्रमुख देवीलाल गौतमले बताए । अहिले स–साना स्वास्थ्य समस्या वडामै निदान भइरहेको चौरजहारी नगरपालिका–१२ की दिलकुमारी ओलीले बताइन् । ‘वडा बनेपछि स्वास्थ्यचौकी पनि वडामै बन्यो र सेवा पाइरहेका छौं,’ उनले भनिन्, ‘अहिले खोप सेवा, परिवार नियोजन सुविधा र सामान्य उपचार घर नजिकै पाइरहेका छौं ।’

जिल्लाका चार स्थानीय तहले बनाएका अस्पतालले मात्रै करिब ६२ हजार बिरामीको उपचार गरेका छन् । चौरजहारी नगरपालिकाका स्वास्थ्य संयोजक डन्डप्रसाद शर्माले नगरपालिकाले स्थापना गरेको अस्पतालबाट सर्वसाधारणले नजिकै र धेरै सेवा पाइरहेको बताए ।

आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले स्थानीय तह भनेको संघीयता कार्यान्वयनको मुख्य आधार भएको बताए । आधारभूत आवश्यकता पूर्तिमा स्थानीय सरकार केन्द्रित भएको उनको भनाइ छ । ‘सकेसम्म सबै सर्भिस डेलिभरी गर्न खोजिएको छ, कति नपुगेको होला पनि,’ उनले भने, ‘हामी सकेसम्म आधारभूत सेवा सबैतिर सजिलै पुगोस् भनेरै लागेका छौं ।’





error: Content is protected !!