३ वर्षदेखि पुल अलपत्र

रुकुम पश्चिम ः मुसीकोट नगरपालिका–१ र बाँफिकोट गाउँपालिका–१० जोड्न सानीभेरी नदीमाथि बनाउन थालिएको मोटरेबल पुल ३ वर्षदेखि अलपत्र परेको छ ।

सडक डिभिजन कार्यालय चौरजहारीमार्फत निर्माण थालिएको उक्त पुलको म्याद २०७५ को माघ महिनामै सकिएको हो । तर पुल निर्माणको जिम्मा लिएको नागार्जुन कन्स्ट्रक्सनको लापरबाहीले पुल निर्माणको काम अझै अलपत्र छ ।

हालसम्म दुवैतर्फको पिलरको केही काम सकिनुबाहेक अरू प्रगति हुन सकेको छैन । सानीभेरी नदीवारि र पारिको पिलर पनि पूरा नगरी ठेकेदार कम्पनीले बीचैमा काम छाडेको छ । २०७३ असारमा कन्स्ट्रक्सन र डिभिजन कार्यालयबीच १० करोड ८६ लाख रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । २०७३ पुसबाट काम सुरु गरेको कम्पनीले करिब ३ महिना काम गरेपछि पुल निर्माणको काम छाडेको हो । २०७४ वैशाखयता ठेकेदार कम्पनीका प्रतिनिधि पुल निर्माणस्थलमा नआएको स्थानीय हरिभान नेपालीले बताए । ‘अब त पुल बन्छ कि बन्दैन भन्ने आशंका छ,’ उनले भने, ‘पुल निर्माणमा खटिएका कामदारले पनि अझै ज्याला पाएका छैनन् ।’

यो पुल डोल्पा जाने सडकका लागि मुख्य मानिन्छ । पुल नबन्दा बाँफिकोट गाउँपालिका–९ भेराखेतमा ४ सय केभीएको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन बनाउन कामसमेत प्रभावित हुने देखिएको छ । छिन्खेत, राडीबजारलगायतका व्यापारिक केन्द्र हुँदै जाजरकोट र डोल्पासम्मको सडक नियमित बनाउन पुल निर्माणको काम थालिएको थियो ।





error: Content is protected !!