सिंहद्वारा जाजरकोट कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा

जाजरकोट ः नेपाली कांग्रेसका यूवा नेता वेदराज सिंहले जाजरकोट नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेस भित्रका प्रखर वक्ता, प्रभावशाली नेताको परिचय बनाएका सिंहले शुक्रबार औपचारिक रुपमा पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफूलाई जिल्ला सभापतिमा मतदान गरेर विजयी बनाउन क्षेत्रीय प्रतिनिधिहरूसँग अपील गरेका छन् ।
‘हामीहरू यतिखेर नेपाली कांग्रेसको ऐतिहासिक १४औं महाधिवेशनको विशेष सन्दर्भमा छौं’, उनले भने, ‘यो महाधिवेशन पार्टी निर्माण र रूपान्तरणको निर्विकल्प माध्यम हो भन्ने कुरामा यहाँहरू जानकार नै हुनुहुन्छ ।’
‘पार्टीमा देखिएको ध्रुवीकरण र गुटबन्दीलाई अन्त्य गर्दै सबै नेता कार्यकर्ताहरूमा आपसी एकता, सहकार्य र सहअस्तित्वको निर्माण गर्ने मेरो एउटै लक्ष्य र उदेश्य हुनेछ’, उनले भनेका छन् ।
‘पार्टी निर्माणको यो ऐतिहासिक महाअभियानमा नेतृत्वको लागि मैले प्रस्तुत गरेको सभापतिको उम्मेदवारीलाई यहाँहरूको साथ, सहयोग र समर्थन रहने पूर्ण अपेक्षा गर्दछु’, नेता सिंहले भनेका छन् ।










