यस कारण डोल्पा भ्रमणमा जानुपर्ने

हेमन्त केसी
नेपालकै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, वरिपरी पहाड, डाडाँले घेरिएको बीचमा रहेको वाइ आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर रहनुका साथै नेपालकै गहिरो मानिएको यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो ताल बेलाबेलामा रंग बदल्ने भनेर पनि चिनिन्छ । हिमालको काखमा, सफा, कन्चन र जडीबुटीहरूको मिश्रणबाट पग्लिएको हिउँबाट यसको जन्म भएको छ ।

शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगुमा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारबिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मिटर )जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभगमध्ये भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको चाहनाअनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको छैन । डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाइजहाज नै हो ।

तालको मनोरम दृश्यले हरकोहीलाई मोहित बनाउँछ । पछिल्लो समय फोक्सुण्डो ताल निकै आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै गए पनि यात्रा रमाइलो हुने र हवाइ मार्गमार्फत गएमा पनि झनै मन लोभ्याउने पर्यटकहरू बताउँछन् ।

बास बस्नका ठाउँठाउँमा होटलहरू निर्माण गर्ने क्रम जारी रहेको छ । बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा पर्यटकलाई मोहनी लगाउने प्राकृतिक क्षमता छ । डोल्पा मात्र होइन, छिमेकी जिल्लाको समृद्धिको ठूलो आधार ताल बन्न सक्छ । फोक्सुण्डो ताललाई शे–फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र छ । हिमाली सफा पानी यस तालमा पर्यटकको अनुहार आफूभित्र टल्काउनलाई पर्खेर बसेझैं भान हुन्छ ।

छिन्चु जाजरकोट हुँदै डोल्पासम्म जाने सडकको ट्याक औपन भएसँगै फोक्सुण्डो ताल जाने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । अहिले जाजरकोट खण्डमा पुल निर्माणको काम करिब ८० प्रतिशत सकिएको भने डोल्पा खण्डमा निर्माणका काम जारी छ । जाजरकोट सदरमुकामदेखि १७ किलोमिटर दूरीमा रहेको ठूलीभेरी र सानीभेरीका संगमस्थल रिम्नासम्म पिचको काम जारी छ । त्योभन्दा माथि जाजरकोटको अन्तिमबिन्दु तल्लु बगरसम्म पिचको लागि केही दिनमै बोलपत्र आह्वान गर्न लागिएको सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुव झाले बताए ।

जाजरकोटदेखि दुनै सडक ११७ किलोमिटरमा १४ वटा पुलको काम चलिरहेको छ । फोक्सुण्डो मात्र नभएर उपल्लो डोल्पामा आन्तरिक पर्यटक बढाउनका लागि भौतिक संरचना निर्माणमा भारी जोड दिनु जरुरी छ ।

संसारमै लोपोउन्मुख हिउँ चितुवासमेत यही निकुन्जको पेरीफेरिमा पाइन्छ । अहिले सो ठाउँमा रहेका चारवटा हिउँ चितुवालाई रेडियो कलार जडान गरि अध्ययन थालिएको निकुन्जले जनाएको छ ।

प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि निकै धनी छ, डोल्पा । तर, डोल्पाको सुन्दरताले जति ख्याति पाएको छ, त्यसअनुसार पर्यटक जान नसक्दा नीति निर्माण तहमा बस्नेलाई सधैँ यस क्षेत्रका जनसधारणले आक्रोश पोख्दै आएका छन् । सुर्खेतको छिन्चुदेखि जाजरकोट हुँदै तल्लोबगरसम्म, तल्लोबगरदेखि खदाडसम्म, खदाडदेखि त्रिपुराकोटको कान्तिबजारसम्म र कान्तिबजार हुँदै डोल्पाको सदरमुकाम दुनै सडक मार्गबाट पुग्न सकिन्छ ।

हवाई जहाजबाट जाने हो भने अहिले काठमाडौंदेखि डोल्पाको जुफाल एयरपोर्टसम्म यात्रुको चापअनुसार नेपाजगञ्जदेखि जुफालसम्म हवाइ सेवा नियमित छ । जुफालदेखि डोल्पाको सदरमुकासम्म जिपमा एक घण्टा लाग्छ । त्यसपछि फोक्सुण्डो जान पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । दुनैदेखि तीन दिनको पैदल यात्रापछि फोक्सुण्डो तालको मनोरम दृश्यावलोकन गर्न सकिने टानका सदस्य झाँक्रीले बताए ।

धार्मिक महत्व पनि उत्तिकै

डोल्पा जाने मुख्यद्वारमा बाला त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको कण्डयाउलो पतन भएको ठाउँ र दश महाविद्यासमेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ । बाला त्रिपुरासुन्दरीको मन्दिरस्थललाई ‘त्रिपुराकोट’ पनि भनिन्छ । यो पुरानो तिब्रिकोट जिल्लाको सदरमुकाम क्षेत्र हो ।

यहाँको सुरम्य डाँडको मन्दिर परिसरमा चारैतर्फ सत्तल एवं पार्टीपौवाहरूले घेरिएको बीचमा भगवतीको मन्दिर छ । मन्दिरको दक्षिणतर्फ रहेको एक प्राकृतिक शिलालाई ‘त्रिपुरादेवी’ भनिँदै आइएको छ । यो एउटा भगवतीको भावनात्मक ‘शक्तिपीठ’ हो ।

त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र कर्णाली प्रदेशको सबैभन्दा ठूलो त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ । ईसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रूपमा पनि पृथक छ । यसको चारैतिर होचो भूभाग र दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ छ । यहाँ बीचैमा उठेको थुम्को र त्यसैको थाप्लोमा अडिएको विशाल संरचना छ । करिब ७ हजार फिटको उचाइमा यो तीर्थस्थल रहेको छ ।

मन्दिर नेपालका परम्परागत मन्दिरभन्दा फरक शैली र आकारको छ । ईसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रूपमा पनि पृथक छ । यस मन्दिरको पश्चिममा ताम्रावाणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ ।

उत्तरतर्फबाट आउने ताम्रावार्णी, पूर्वबाट आउने सुन्दरी खोला र दक्षिणतर्फबाट झर्ने भैरवी खोलाको सङ्गमस्थल दोभानभन्दा अलिकति माथि डाँडाको टुप्पामा बालात्रिपुरासुन्दरी देवीको मन्दिर छ । यहाँ उत्तर र पूर्वबाट आउने खोलालाई ‘छलगाड’ पनि भन्दछन् । यसै सङ्गम स्थलबाट भेरी नदीको सुरूआत हुन्छ ।

त्रिपुरासुन्दरी मन्दिर राजा, प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुख लगायत उच्चपदस्थ व्यक्तित्वको पनि गन्तव्यस्थल बन्ने गरेको छ । यहाँका बुढापाकाको भनाइअनुसार पूर्वराजा महेन्द्र, वीरेन्द्र, दीपेन्द्र, ज्ञानेन्द्र शाहदेखि गुरु शंकराचार्य र पुरीनाथ बाबा लगायतले मन्दिरको दर्शन गरिसकेका छन् । ३० चैत २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिपुरा सुन्दरीमा पूजाआजा गरेका थिए ।

इतिहासमै पहिलोपटक बहालवाला प्रधानमन्त्रीले त्रिपुरा सुन्दरी मन्दिरमा पूजाआजा गरेको उदाहरण हो । २९ चैत २०७४ मा तीन जना भारतीय पूर्वराजदूतले त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गरेका थिए । १५ दिने डोल्पा पदयात्राका लागि भारतीय पूर्वराजदूतहरू रणजीत राय, श्यामशरण, देव मुखर्जी डोल्पा पुगेका थिए ।

धार्मिक मान्यताअनुसार बाला त्रिपुरासुन्दरीबाट उडेर पुतलीरुपी देवीहरू बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका ठाउँमा गई त्यहाँ यिनै नामले प्रसिद्ध छन् । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा रहेको धार्मिक विश्वास छ । विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन् । परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन् । यो मन्दिर नेपालमा रहेका त्रिपुरा सुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो । ‘त्रिपुरा सुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको कन्ड्यौलो पतन भएको ठाउँ र दशमहाविद्यासमेत उत्पत्ति भएकाले कारण मन्दिरको महत्व बढी रहेको स्थानीय इतिहासका जानकार रबीप्रसाद न्यौपानेले बताए ।

स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अंग कण्डयाउलो (ढाड) पतन भएको शक्तिपीठ हो यो । यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ । सतीदेवीको अंग पतन भएपछि शक्ति स्वरुपाका रूपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ति रहेको न्यौपानेले बताए ।

नेपालका बाइसे चौविसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको शहर तार पुग्दा बाँदर फड्का खोलामा पुल नलाग्दा त्रिपुरासुन्दरीलाई गुठीका रुपमा चढाउने भाकलपछि पुल लागेको र डोल्पाका नौ राज्य एकीकरण गरेको किंवदन्ती न्यौपानेले सुनाए ।
सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेकामध्ये डोल्पाका मात्र तीन सम्पदा पर्यटकीय गन्तव्यमा परेका थिए । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरा सुन्दरी मन्दिर, रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा नयाँ पर्यटकीय गन्तव्यभित्र डोल्पाका तीनवटा सम्पदा परेका थिए ।

नेपालकै ठूलो निकुञ्जको रूपमा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, देशकै गहिरो फोक्सुन्डो ताल, सुलिगाड झरना, सयौँ वर्ष पुराना बुद्धमूर्तिहरू रहेको शे–गुम्बा, विश्वको सबैभन्दा अग्लो मानववस्ती रहेको धो उपत्यका लगायतका चर्चित प्राकृतिक सम्पदा पनि यसै निकुञ्जभित्र पर्दछन् । अर्को गन्तव्यको रूपमा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र त्रिपुरा सुन्दरी मन्दिर सूचिकृत भएको थियो । शे–गुम्बा, संसारकै अग्लो मानववस्ती तिन्जे गाउँ, जगदुल्ला ताल, सुनदह, राजारानी क्षेत्र लगायतका दजर्नौ चर्चित पर्यटकीय सम्पदाका साथै पाँच हजार मिटरभन्दा अग्ला दर्जनौँ हिमाल पनि डोल्पामा पर्दछन् । डोल्पामा सबैभन्दा धेरै फोक्सुण्डोबाट शे गुम्बा हुँदै धो तराप उपत्यका भएर पदयात्रा गर्नेको संख्या बढी छ ।

पूर्वाधार मुख्य प्राथमिकता देउ

सडक सञ्जाल, हवाइ मार्गका साथै राज्यको भारी ध्यान गएमा मात्र डोल्पा मात्र होइन, छिमेकी जिल्ला जाजरकोट, रुकुम पश्चिमलाई समेत पर्यटन प्रवदर््धनका लागि जोड्न सकिन्छ । डोल्पा जाने मुख्य रुटहरू नै जाजरकोट, रुकुम पश्चिम भएर जाने गर्दछ । रोपैडिया जमुनाह छिन्चु जाजरकोट डोल्पा हुँदै तेन्जे मरिम्ला जोड्ने मुख्य राजमार्गसमेत यही हो । त्रिदेशीय सडकको रूपमा रहेको यस मार्गको छिटोभन्दा छिटो स्तरोन्नति गरेमा मात्र यहाँको सम्मृद्धिको ढोका खुल्नेछ । यही बीचमा नलगाड जलविद्युत आयोजना (४१७ मेगवाट) जगदुला जलविद्युत आयोजना ९ १०६० निर्माणको चरणमा छन् ।





error: Content is protected !!