कुशेको कथा ः निजी औषधि पसलको कडा औषधिले सरकारी समस्यामा

हेमन्त केसी
जजारकोट – पहुँचमा स्वास्थ्य संस्था तथा प्रयाप्त औषधि नहुँदा कुशे गाउँपालिकामा अबैद्य रुपमा सञ्चालनमा रहेका औषधि पसलको हालिमुहारी बढेको छ ।

चिकित्सकले विरामी जाँच गरेपछि पुर्जीका आधारमा औषधि विक्री गर्न पाइने गर्दछ । कुशे गाउँपालिकामा दत्र्ता नभइ स्थापना भएका १३ वटा औषधि पसलबाट बिरामी समेत अन्धाधुन्धा जाँच गरी औषधि समेत दिने गरिएको छ । कडा डोजका औषधि मापदण्ड विपरित दिदा सरकारी स्वास्थ्य संस्थाबाट दिएको औषधिले काम नै गर्न छाडेको कुशे गाउँपालिकाका स्वास्थ्यकर्मी दिनेश बस्नेतले बताउनुभयो ।

औषधि विक्री जथाभावी गर्दा मावन स्वास्थ्यमा समेत असर गरेको उनको भनाइ छ । नियमनकारी निकायले यहाँका औषधि पसललाइ खासै ध्यान नदिएको सरोकारवाला बताउँछन् । सरकारी स्वास्थ्य संस्थामा चरण ,चरणको औषधि दिएर विरामीको उपचार गरिने भएपनि निजी औषधि पसलमा कडा डोजको औषधि उपलव्ध गराउदा सरकारीले काम गर्न छाडेको हो ।

सरकारी स्वास्थ्य संस्थाको संख्या भन्दा निजी औषधि पसलको संख्या बढी रहेको छ । स्वास्थ्य चौकीको संख्या ५ र आधारभुत स्वास्थ्य सेवा केन्द्रको संख्या ४ मात्र रहेको छ । करारका अधिकांश स्वास्थ्यकर्मीले सरकार स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको छ । बर्थिङ सेन्टरको संख्या ५ रहेको छ । बर्थिङ सेन्टरहरुमा प्रसुती सेवा दिदा टर्च ,लाइट देखि अन्य उपकरणहरु , पर्याप्त ठाउँ नहुँदा सेवा प्रवाह गर्न मुस्किल हुूँदै आएको स्वास्थ्यकर्मीहरु बताउँछन् । आफैँ स्वास्थ्य संस्था बिरामी अवस्था छन् कसरी सेवा प्रवाह गर्नु स्वास्थ्यकर्मी शेरबहादुर बस्नेतले बताउनुभयो । उपकरणको भर भन्दा पनि आफ्नै क्षमता , अनुभवका र विवेकका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

कुशे गाउँपालिका भित्रका कुनै पनि स्वास्थ्य संस्थामा सञ्चार सेवा छैन । स्वास्थ्य सेवा कार्यालय , पालिकामा खवर गर्नकै लागि हिडेरै पुग्नु अथवा इन्टरनेटको सहारा लिनु पर्ने अवस्था रहेको छ । २४ हजार १७१ जना कुशेको जनसंख्या रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको संख्या शुन्य रहेको छ । गर्भपतन सेवा लिनका लागि सदरमुकाम अथवा बाहिर जिल्ला जानुपर्ने बाध्यता रहेको छ । उपकरण तथा अन्य साधनकै अभावमा दैनिक समस्या पर्दै आएको छ । स्टेचरकै अभावमा विरामी लिन र ल्याउन समेत मुस्किल हुँदै आएको स्वास्थ्य सेवा कार्यालयमा बुझाएको रिर्पोटमा उल्लेख छ ।

सबै पालिकामा संघीय सरकारले १० र १५ शश्याको अस्पताल बनाउनका लागि पहल भएपनि कुशेमा भने सो हुने सकेको छैन । सबै भन्दा बढी हवाइ सेवा लिने विरामीहरु मध्य कुशेकै बढी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जुम्लाको सिमाना संग जोडिएको यो पालिका सडक सञ्जालसँग हिउद मात्र सञ्चालन हुने गर्दछ । वर्षायाममा यातायात सेवा ठप्प हुने गर्दछ ।

अन्य पालिकामा एम्वुलेन्स सेवा भएपनि कुशेमा अहिले सम्मा सो सेवा उपलव्ध नभएको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका अन्य पालिकामा के भइरहेको छ भन्ने सजिलै थाहा हुने गरेपनि कुशेमा सञ्चार सेवा नहुँदा सूचना पाउन नै मुस्किल हुने गरेको छ ।





error: Content is protected !!