जडीबुटी संकलन गर्न गएका युवकको हिमपहिरोमा परेर मृत्यु

जडीबुटी संकलन गर्न हुम्लाको चंखेली गाउँपालिका–३ मिमी गएका एकजनाको मृत्यु भएको छ । मुगुम कार्मारोङ गाउँपालिका– ४ कार्तीका ३३ वर्षीय छिरिङ लामा कटुकी संकलन गरी घर फर्किने क्रममा हिमपहिरोमा परी मृत्यु भएको हो ।
छिरिङका दाजु ३७ वर्षीय कार्मा सुन्डा लामाको दाहिने हात भाँचिएको छ । कार्मासहित सातजना दुई दिन लगाएर चंखेली गाउँपालिका–३ मिमी गाउँ हुँदै मुगु फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुबाट मृत्यु र घाइतेबारे जानकारी आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जडीबुटी संकलन गर्न गएका छोइटिन लामा, आङजिङ लामा, तोचे लामा, छोइटाङ लामा, संगीता लामा, कार्मा सुन्डा लामा घर फर्किएका छन् ।
जडीबुटी संकलनका क्रममा हिउँपहिरोमा परी मृत्यु भएका छिरिङ लामाको शव जंगलमै रहेको उनका दाजु कार्मा सुन्डा लामाले घर पुगेर रिपोर्ट गरेपछि जानकारी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्भ शर्माले बताए ।
घटनास्थल मेल्छाम प्रहरीचौकीबाट दुई दिन टाढाको जंगल भएकोले खोजी गर्न प्रहरीलाई कठिन भएको छ ।








