सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई

जाजरकोट –  सात स्थानीय तह रहेको जाजरकोटमा दुर्गम क्षेत्रमा रहेको बारेकोटले सबै स्थानीय तहलाई सेवा प्रवाहमा उछिनेको छ ।
स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ वटा सूचकलाई आधार बनाई गरिएको समीक्षामा बारेकोटले १०० मा ६१.९२ अङ्क ल्याएर एक नम्बर स्थान सुरक्षित गरेको हो । त्यस्तै भेरी नगरपालिकाले दोस्रो र नलगाड नगरपालिकाल तेस्रोे स्थान सुरक्षित गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

अन्य कुशे गाउँपालिका , छेडागाड नगरपालिका , शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिकाको सेवा प्रवाह कमजोर देखिएको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको छैन । सुरक्षित सुत्केरी गराउने दरसमेत अन्य पालिकाभन्दा बढी रहेको छ । जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका दोस्रो स्थानमा आउँदा यहाँको सेवा प्रवाह कमजोर देखिएको तथ्याङ्कले पुष्टि गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने नलगाड नगरपालिका तेस्रो आएर अघिल्लो वर्षको भन्दा सेवा प्रवाह खराव नतिजा ल्याएको तथ्यांकबाट प्रमाणीत भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

आशा जाग्दै सुरक्षित सुत्केरी हुने दर

ज्यान जोखिममा राखेर घरमै सुत्केरी हुने यहाँका महिला अहिले सुरक्षितरूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो । स्थानीय सरकारको पहलकदमीले घरमै सुत्केरी हुने क्रम रोकिएको स्वयंसेविका बताउँछन् । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो ।

जिल्लाका सबै पालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापना हुँदा धामी, झाँक्रीमाथिको निर्भरता ह्वात्तै घटेको हो । स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्व बढेको हो ।

 

नियमित गर्भजाँच गर्नेको संख्यासमेत बढेको छ । सुत्केरी हुँदा डोकोमा बोकेर सदरमुकामस्थित अस्पतालमा ल्याउनुपर्ने बाध्यतासमेत घटेको सर्वसाधारणले बताएका छन् । गाउँघरमै स्वास्थ्य संस्था हुँदा सेवा लिन सजिलो मात्र भएको छैन, आफ्नोपनका साथै खर्चसमेत कम भएको सर्वसाधारण बताउँछन् । गाउँका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर यातायातका साधनमार्फत सजिलै सदरमुकाम ल्याउने काम शुरु भएको छ ।

 

नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्र्याक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको नलगाड नगरपालिका– ७ का कमल सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाले नियमित खोप औषधिसमेत पाएका छन् ।





error: Content is protected !!