कर्णाली प्रदेश मासुमा आत्मनिर्भर

कर्णाली प्रदेश मासुमा आत्मनिर्भर बनेको छ । पछिल्लो समय पशुपालन व्यवसायमा आकर्षण बढ्न थालेपछि कर्णाली प्रदेश मासुमा आत्मनिर्भर भएको हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी विकास निर्देशनालयका अनुसार कर्णाली प्रदेशले खसीबोका, भेडालगायत निर्यातसमेत गर्ने गरेको छ ।

प्रदेशलाई पुग्ने मासु उत्पादन भएर पनि भेडाच्याङ्ग्रा निर्यात हुने गरेको निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले बताए । यो वर्षको दसैँतिहारमा मात्रै ५० हजार भेडाच्याङ्ग्रा निर्यात हुने अनुमान रहेको गिरीले जानकारी दिए । “गत वर्ष कर्णालीबाट १ अर्बबराबरको निर्यात गर्न सफल भएका थियौँ,” उनले भने, “यो वर्ष त्योभन्दा धेरैको हाराहारीमा हामी भेडा, च्याङ्ग्रा, खसी बोका निर्यात गर्छौं ।”

दसैंतिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङ्ग्रा पोखरा, काठमाडौंलगायतका सहरमा निर्यात हुने गरेको छ । ती सहरमा यहाँका खरी जातका खसीको विशेष पहिचानसमेत रहेको छ ।

कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू अहिले पशुपालन व्यवसायमा आकर्षित भएको भन्दै कर्णालीमा मासुको उत्पादनमा समेत वृद्धि भएको गिरीको भनाइ छ । “हामीले विगतको भन्दा उत्पादनलाई समेत बढाउँदै गएका छौं,” उनले थपे, “पछिल्लो समय पशुपालन व्यवसायमा पनि युवाहरूको आकर्षण बढ्दो छ । कोरोनाले गर्दा घर फर्केका युवाले पनि कृषि गर्न थालेका छन् ।”

प्रदेशका करिब ६० प्रतिशत मानिस पशुपालनमा निर्भर रहेको निर्देशनालयको तथ्यांक छ । कर्णालीका सुर्खेत, दैलेख जाजरकोट जिल्लाका स्थानीय जातका खसीबोका र हिमाली जिल्लाका भेडाच्याङ्ग्राको माग पनि बढ्दै गएको छ । खरिदका लागि व्यापारीहरू कृषकको घरसम्मै पुग्ने गरेका छन् ।

व्यापारीहरू घरसम्मै आएपछि कृषकले आकर्षक मूल्य पनि पाउन थालेका छन् । गत वर्ष जिउँदो खसी प्रतिकिलोको ५ सय २५ रुपैयाँले खरिद गरेकोमा यस वर्ष ५ सय ५० ले खरिद गरेको बराहताल, सुर्खेतकी विष्णा विकले बताइन् । माग बढेको र व्यापारीहरूको प्रतिस्पर्धाका कारण किसानले राम्रो मूल्य पाउन थालेको उनले बताइन् ।

नेपाल राष्ट्र बैंकले गरेको प्रदेश आर्थिक गतिविधि अध्ययन २०७७र०७८ ले पनि कर्णालीमा पशुपन्छी उत्पादन वृद्धि भएको देखाएको छ । मासु उत्पादन २९।६८ प्रतिशत, दूध उत्पादन ०।६९ प्रतिशत र अन्डा उत्पादन २।२३ प्रतिशतले बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत वर्षको सोही अवधिमा मासु उत्पादन ०।८३ प्रतिशत, दूध उत्पादन ३/०२ प्रतिशत र अन्डा उत्पादन १०२।७५ प्रतिशतले बढेको थियो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको सकारात्मक प्रयास तथा यस क्षेत्रमा कर्जा लगानीसमेत बढेका कारण समग्र पशुजन्य उत्पादनमा वृद्घि भएको अनुमान छ ।

कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले पनि पशुपन्छी, मत्स्य तथा मौरीपालनलाई प्रदेशको कृषि विकासको महŒवपूर्ण अंगका रूपमा लिएको छ । व्यावसायिक पशुपन्छी पालनको विस्तार गरी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । साथै पशुपालनलाई आर्थिक उन्नतिको मुख्य क्षेत्रका रूपमा विकास गर्ने प्रथम पञ्चवर्षीय योजनामा उल्लेख गरिएको छ ।





error: Content is protected !!