शितभण्डारको अभावमा डोल्पाको स्याउ खेर जाँदै

नन्दा शाही

डोल्पा ः स्याउको राम्रो उत्पादन हुने डोल्पामा बजारीकरणको अभावमा स्याउ खेर जाने गरेको छ । कृषकहरूले मिहिनेत गरी उत्पादन गरेको स्याउले उचित मूल्य नपाउँदा हैरान भएको यहाँका स्याउ किसानले बताएका छन् ।

उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्छ । भारी स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानी समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका– ३ र ४ मा पाइने प्रमुख लामाले बताए ।

जुफाल विमानस्थलबाट ढुवानी गर्नसमेत मुस्किल हुने र सडक मार्गबाट बजारसम्म लैजानका लागि भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउलाई सही रूपमा व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा छवटा कोल्ड स्टोर कार्यालयले दिएको भए पनि चारवटा मात्र मुस्किलले प्रयोगमा आएका थिए । अन्य दुईवटा प्रयोगमा नआएको उनले बताए ।

स्याउलाई भण्डार गर्न सजिलोका लागि कार्टुनहरू समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ । अहिले कृषि विकास कार्यालयमा एउटा मात्र कोल्ड स्टोरका लागि बजेट आएको तर माग भने धेरै आएको उनले बताए । ‘स्रोत कम छ, माग धेरै आयो, कसरी मिलाउने ?’, प्रमुख लामाले भने । एउटा कोल्ड स्टोरमा १० टन स्याउ राख्न सकिन्छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाहीले बताइन् ।

त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा भारी मात्रामा स्याउ उत्पादन हुने गर्छ । यस वर्षदेखि भारी मात्रामा अंगुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठले बताइन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञवालीलगायतको टिमले स्याउलगायत अन्य नगदेबालीको अनुगमनसमेत गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका थिए । चिना, फापर र काकुनोलगायका बालीको समेत अनुगमन गरिएका थियो ।

स्याउ उत्पादन क्षेत्रमा कहिले पुग्छ सडक ?

सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउले बजार कब्जा गरिरहेको बेला आफ्नै स्थानीय उत्पादनले बजार नपाउनु दुखद् भएको कृषकले बताएका छन् । स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न पनि स्थानीयले माग गरेका छन् ।

जाजरकोट–डोल्पा सडक खण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँमा सडक लैजान सके सजिलै स्थानीय स्याउहरू बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् ।





error: Content is protected !!