चाडपर्वमा ठगी उस्तै

रुकुम पश्चिम ः चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगिएको गुनासोपछि जिल्लाका विभिन्न व्यापारिक केन्द्रमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा अधिकांश व्यापारीले ६ महिना अघि भेटिएका कैफियत पनि अहिलेसम्म नसुधारेको पाइएको हो ।
जिल्ला प्रशासन र मुसीकोट नगरपालिकाले बैशाखमा पनि बजार अनुगमन गरेको थियो । पसल दर्ता र नविकरण नगरेका, मुल्य सूची नराखेकालगायत कैफियत यसपल्ट पनि एउटै पसलमा भेटिएका हुन् । म्याद गुज्रेका खाद्य र पेय पदार्थ पनि भेटिन नछाडेको अनुगमन टोलीले जनाएको छ । ‘अर्को पटक बजार अनुगमन गर्दा सबै प्रक्रिया र सामग्री दुरुस्त राख्छु भन्नेहरू पनि उस्तै अवस्थामा भेटिए,’ सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले भने, ‘सबैजसो पसलमा एकैखाले कैफियत भेटिए ।’ उनका अनुसार बुधबारदेखि सदरमुकाम आसपासका झण्डै १ सय पसल अनुगमन भएका छन् ।
बजारको भन्दा गाउँतिरका धेरै पसलमा समस्या देखिएको टोलीले जनाएको छ । गल्ति गर्नेहरूलाई कानुन बमोजिम कारवाही नहुँदा बजार नसप्रिएको त्रिवेणी गाउँपालिका–६ का रामबहादुर पुनले बताए । ‘वर्ष दिनमा मात्र बजार अनुगमन हुन्छ, गल्ति भएकालाई फेरि गल्ति नगर्नु भनेर छाडिन्छ,’ उनले भने, ‘त्यसैले पनि उपभोक्ता ठगिनु परिरहेको छ ।’ अनुगमन टोलीले कारवाहीका नाममा अवैध देखिएका र म्याद गुज्रेका सामग्री जफत मात्र गर्ने गरेको उनले बताए ।
कानुन अनुसार कसैलाई कारवाही नहुँदा मनलाग्दी व्यापार भइरहेको मुसीकोटका डिल्ली रावलले बताए । ‘व्यापारी कमाउन बसेका छन्,’ उनले भने, ‘त्यसको नियमन र निगरानी कडाइपूर्वक नहुनुको मार उपभोक्ताले खेपिरहनु परेको छ ।’ कैफियत भेटिएका पसलहरूले यसपटक सुधार नगरे कानुनी कारवाही गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख मोहनकुमार केसीले जानकारी दिए ।










