कति दिन फोन गर्न अग्लो डाडा चहार्ने ?

हेमन्त केसी
जाजरकोट – कुशे गाउँपालिका – ८ का रामबहादुर रोकाय विरामीलाइ उपचारका लागि लिएर गएका आफन्तसँग फोन सम्पर्क गर्न अग्ला डाडामा जान थालेको सात दिन भयो ।
दैनिक विहान अग्लो डाडामा जानु र विहान १० बजे गाउँमा फर्कनु उनको दैनिकी नै भएको छ । उनकी बैनी लडेर खुट्टा भाँचिएपछि उपचारका लागि नेपालगन्ज लिएको ११ दिन बित्यो । दैनिक आमा,बाबा र आफन्तलाइ विरामीको अवस्थाका विषयमा जानकारी दिनुपर्ने भएकाले उनी दैनिक फोन सम्पर्क गर्न तीन घण्टा हिडेर अग्लो डाडामा जानु परेको बताउँछन् ।
घरको काम छाडेर दैनिक तल , माथी गर्दा आफू हैरान भएको उनले पीडा सुनाउछन् । ‘म जस्तै फोन सम्पर्क गर्न अधिकांश गाउँका सर्बसाधारणहरु फोन गर्न अग्लो डाडाँमा जानेको ठुलै भिड हुने गरेको छ । वर्ष दिन अघि स्काइ फोनले केही ठाउँमा काम गरेको भएपनि अहिले नयाँ नमस्ते प्राविधिको फोनका टावर निर्माण सँगै स्काइ फोनले काम नगर्ने भएका छन् । ’
सिँगो गाउँपालिकामा फोन सम्पर्क गर्न मुस्किल हुँदै आएको स्थानीय पत्रकार सरु बस्नेतले बताइन् । उनले भनिन् ,‘ कति खेर के हुन्छ थाहा नै हुँदैन । सडकको सहज पहुँच भएको र विद्युतीकरण समेत नभएको कुशेमा विरामीलाइ उपचारका लागि समेत हेलिकोप्टरको प्रयोग हुँदै आएको छ । ’ जिल्लाको सबै भन्दा बढी हेलिकोप्टरमा विरामी उद्धार गर्नेमा कुशे गाउँपालिक नै रहेको छ । स्थानीय तहमा जडान गरिएको इन्टनेटको माध्यमबाट मात्र सञ्चार गरिदै आएको कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । टावर निर्माण गरेर डाडाहरुमा ठडिएका छन् , वर्ष दिन देखि टावरहरु हेरेर चित बुझाउनु परेको छ उनले भने । यो स्थानीय तह कांग्रेसको एकलौटी बहुमतमा रहेको छ । टावर सञ्चालनका लागि पहल नगरेको भन्दै गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको चर्को आलोचना हुँदै आएको छ ।
स्थानीय यूवा गणेसमान सिंह भन्छन् । ‘ जिल्लाका अन्य ६ स्थानीय तहमा टावर निर्माण भइ सञ्चार सेवा प्रभाव बढीरहेको बेला कुशेमा भने हामी कुन दुनियाँमा छौँ अत्तोपत्तो छैन ,हामीलाइ यो सरकारले हेप्न सम्म हेपेको छ । ’ घाम नलागेको दिन अग्ला डाडामा गएर पनि फोन सम्पर्क हुन सक्दैन उनले थपे । कुशे लगाएत जिल्लाका सबै स्थानीय तहमा टावर निर्माणको जिम्मेवारी भारतीय कम्पनीले लिएको थियो ।
सो सम्पनीलाइ काम गर्न भन्दै ६ पटक म्याद थप्दा पनि काम नगर्दा टावर निर्माण कार्य अलपत्र परेको थियो । अहिले चिनिया कम्पनीलाइ कामको जिम्मेवारी दिएर कामको सुरुवात गरिएको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए । कर्णाली प्रदेशका १० जिल्लामा काम गर्ने एकै कम्पनीलाइ ठेक्का दिइएको रहेछ उनले भने ,‘ १० जिल्लाको काम एकै पटक गर्न खोज्दा जाजरकोट ढिला भयो , मैले जाजरकोटको अलग गरेर काम गर्न दबाब दिएपछि अन्य ६ वटा स्थानीय तहमा काम भएर टावर सञ्चालमा आए तर कुशेमा आउन सकेको छैन । दशैं तिहार अगाडी काम गर्ने सहमती भएको थियोँ अब होला । ’
यत्ता नेपाल टेलिकमलाइ टावर निर्माणको बारेमा कहाँ के भइहेको छ भन्ने कुरा केही जानकारी नहुँने गरेको छ । नयाँ टावर निर्माणको कुरा सुनिन्छ तर के कति प्रगती भएको छ भन्ने हामीलाइ थाहा हुँदैन टेलिकम जाजरकोटका प्रमुख गोवेन्द्र अधिकारीले बताए ।
गाउँ , गाउँमा पावरको अभावका कारण टावरहरु सञ्चालनमा समस्या आइरहन्छ उनले भने । जिल्ला स्थित सरोकारवालाको बैठकमा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत र बारेकोट गाउँपालिकालका अध्यक्ष महेन्द्रबहादुर शाहले टेलिकमका कर्मचारीलाइ कारबाही गर्न माग गरेका छन् । मदमासी गर्न गर्ने कर्मचारीलाइ तह लगाउने समेत आक्रोष उनीहरुले पोखेका थिए ।










