गोदाममा चामल नै छैन के को छुट पाउँछन् डोल्पाली

नन्दा शाही

डोल्पा – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रति किलो चामलमा ५ रुपैयाँ छुट दिने निर्णय डोल्पामा खल्लो भएको छ ।
कम्पनीको गोदाममा चामल नै नहुँदा दैनिक चामल लिँनका लागि आएका सर्बसाधारणहरु रित्तो हात फर्कन बाध्य भएको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो । रेडियो ,टिभीबाट प्रतिकिलो रु ५ छुट थाहा पाएका सर्बसाधारणहरु चामल लिँनका लागि आउनुहुन्छ , हामीसँग चामल नै छैन के दिनु रु उहाँले भन्नुभयो ।

सरकारले देशका सुविधा सम्पन्न ठाउँमा सुपथ मुल्य पसल स्थापना गरेर सेवा प्रवाह गरेपनि डोल्पा लगाएत जाजरकोटका सर्बसाधारणलाइ त्यो सुपथ मुल्य पसलले छुन सकेको छैन । जहाँ सुविधा सम्पन्न ठाउँ छन् त्यही नै सुपथ मुल्य पसल छ ।दुर्गमका जनताका लागि केही पनि सेवा छैन डोल्पा ठुलिभेरी नगरपालिका –३ डिलाराम थापाले बताउनुभयो । उहाँले भन्नुभयो ,“ जहाँ सुगम छ ,त्यही सरकार छ रु हाम्रोमा जती पैसा तिरेर खाद्यान्न खरिद गछौँ भन्दा पनि चामल पाइदैन के गर्नु । बर्षामा भत्किएका सडकहरु समेत सुचारु भएका छैनन् । ”

डोल्पाका गाउँमा अहिले खाद्यान्न अभाव हुँन थालेको छ । नयाँ अन्न सकिएको र नयाँ अन्न पाकिनसकेकोले खाद्यान्न संकट भएको हो ।
दुनैमा रहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले समस्या परेको समयमा मात्र उपलब्ध गराउने भन्दै थोरै चामल सुरक्षित गरी राखेको छ । गाउँका सबै डिपोहरु रित्तो अवस्थामा रहेका छन् ।

गत आर्थिक वर्षमा जिल्लाको लागि १८ हजार क्वीन्टल चामल विनियोजन भई विक्री भइसकेको लिमिटेडले जनाएको छ ।
दुनै शाखामा २ सय ५० क्वीन्टल र जुफाल गोदाममा २०९ क्वीन्टल चामल मात्र मौज्दात रहेको छ । यो चामल ग्रामीण वस्तीका आर्थिक विपन्न गरिव परिवारहरुमा मृत्यु, बाढीपहिरो लगायतका आपत कालिन अवस्थामा वितरणको लागि राखिएको लिमिटेडका प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

नेपाल सरकारले गएको वर्ष माथिल्लो डोल्पाको लागि १ हजार ५ सय क्वीन्टल,तल्लो डोल्पाका सर्मि डिपोको लागि ३०० क्वीन्टल,काइगाउँ डिपोको लागि १ हजार क्वीन्टल,दुनै शाखाको लागि ९ हजार क्वीन्टल र जुफाल गोदाको लागि ४ हजार ५ सय क्वीन्टल गरेर १८ हजार क्वीन्टल चामल विनियोजन गरेको थियो । यो सबै चामल सकिएकाले अहिले समस्या हुँदै आएको छ ।
आर्थिक वर्ष ०७८÷०७९ को लागि जिल्लाको लागि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड नेपालगन्ज र सुर्खेतबाट डोल्पा ढुवानी गर्न बोलपत्र आवह्वानको काम सुरु भएको छ । सो ठेक्का कहिले स्वीकृत हुन्छ र डोल्पामा खाद्यान्न पुग्छ भन्ने कुरा एकिन नभएको कार्यालयले जनाएको छ ।

उपल्लो डोल्पामा गत आर्थिक वर्षको चामल समेत कोरोना कारणले ढुवानी हुननसक्दा आफूहरुले बजारवाट प्रतिक्वीन्टल १६ हजार सम्म मुल्य तिरेर खाद्यान्न खानु परेको छार्काताङसोङ गाउँपालिका –४ का कार्म गुरुङ्गले बताउनुभयो ।“ हामिले त गत वर्ष देखि नै खाद्यन्न पाएका छैनौ ।प्रति क्वान्टील ५ हजारमा पाइने चामल १६ हजार सम्म तिरेर खानु परेको छ ।”

नेपाल सरकारको ढुवानी अनुदानमा उपलब्ध हुने मोटो अरुवा चामल प्रतिक्वीन्टल ३ हजार ५ सय देखि ४ हजार सम्ममा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडबाट प्राप्त गर्छन भने सोही चामल सर्वसाधारणलाई बजारमा किन्दा बस्ती र भूगोल अनुसार ६ देखि २० हजार सम्ममा मुल्य तिरेर खानु पर्ने बाध्यता छ । सरकारले दुर्गमका जिल्लामा ढुवानी अनुदान दिँदै आएको छ ।





error: Content is protected !!