गाउँगाउँमा थलिए बिरामी

सल्यान – जिल्लामा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो ज्वरोका बिरामी बढ्दै गएका छन् । मौसम परिवर्तनसँगै अत्यधिक वर्षा हुँदा घरघरमा बिरामी थलिएका हुन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीले स्वास्थ्य परीक्षण गर्न मानेका छैनन् । कोरोना परीक्षण नहुँदा उनीहरूको उपचारमा समेत समस्या परेको छ ।
अधिकांश बिरामी घरेलु उपचार र मेडिकलको औषधिको भरमा रहेको कालीमाटी गाउँपालिकाका नन्दराम पुनले बताए । ‘घरघरै बिरामी छन्, सबैको लक्षण कोरोनासँग मिले पनि गाउँपालिकाले परीक्षण र उपचारमा बेवास्ता गरेको छ,’ उनले भने, ‘गाउँको स्वास्थ्यचौकीमा औषधि र स्वास्थ्यकर्मी नहुँदा घरेलु उपचारको भर पर्नुपरेको छ ।’ उनले भारतबाट फर्किएकाहरू सोझै गाउँ छिर्दा गाउँगाउँमा कोरोना फैलिएको बताए ।
एक सातादेखि ज्वरोले थलिएका बाग्चौरका रेशम बस्नेतले स्थानीय तहका जनप्रतिधिलाई परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरे पनि बेवास्ता भएको बताए । ‘घरघरै बिरामी थलिएका छन्, तर स्थानीय सरकारबाटै परीक्षण र उपचारमा बेवास्ता भयो,’ उनले भने, ‘जनप्रतिनिधिले बेलैमा ध्यान नपुर्याउँदा संक्रमण भयावह हुने स्थिति आयो ।’ उनका अनुसार ज्वरोका कारण एकै घरमा ५ जनासम्म थलिएका छन् ।
ज्वरोका बिरामी बढेसँगै जिल्ला अस्पतालमा पनि चाप बढेको छ । अस्पतालका डा। भीमकान्त जैसीले दैनिक ४० जनासम्म ज्वरोका बिरामी उपचार गर्न आइरहेको बताए । ‘बिरामीको ज्वरो परीक्षण गर्दा अधिकांशको तापक्रम सय डिग्रीभन्दा बढी देखिन्छ,’ उनले भने, ‘तर बिरामी बढे पनि अवस्था जटिल भएको छैन ।’ शंकास्पद बिरामीको कोरोना परीक्षण गर्ने गरिएको उनले जानकारी दिए । उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधि वितरण भइरहेको अस्पतालले जनाएको छ । ‘शंकास्पद बिरामीको कोरोना परीक्षण गरे पनि पोजिटिभ हुनेको संख्या ज्यादै कम छ,’ डा। जैसीले भने, ‘मौसम परिवर्तन भएकाले भाइरल ज्वरो हुन सक्छ ।’ शारदा नगरपालिका कोरोना नियन्त्रण फोकल पर्सन रवीन विष्टले ज्वरोका बिरामी बढ्दै गए पनि उनीहरूमा कोरोना संक्रमणको दर ज्यादै न्यून भएको बताए ।







